लुम्बिनी, १६ पुस ।
आजदेखि सुरु हुने लुम्बिनी सांस्कृतिक महोत्सव तथा आठौ सडक खाना महोत्सवको लागि लुम्बिनीलाई दुलही जस्तै सिंगारिएको छ ।

आर्कषक मञ्च व्यवस्थापन, स्टल, लाईटिङ्गको सबै काम पुरा गरी अब दर्शकको पर्खाईमा रहेको आयोजक संस्था लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिनु भयो ।
शुक्रबार सांझ ५ बजेदेखि कार्यक्रमहरु सुरु हुने अध्यक्ष ज्ञवालीले बताउनु भयो । कारोनाका कारण सुनसान बनेको लुम्बिनीको पर्यटन प्रवद्धनका लागि यस वर्ष दुई दिन पुस १६ र १७ गते सडक खाना महोत्सवको आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले जानकारी दिनुभयो ।

महोत्सवमा नेपाली संस्कृति झल्किने विभिन्न खालका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । तराईमा लोकप्रिय थारु झुमरा, विरहा, पञ्चेवाजा, नौमति वाजाको प्रस्तुति गरिने संघका निवर्तमान अध्यक्ष श्रेष्ठको भनाई छ । यस्तै अंग्रजी नयां बर्षका अवसरमा महोत्सव आयोजना हुने भए पनि यस पटक भने आन्तरिक तथा बाह्रय पर्यटकलाई दुई दिन सम्म लुम्बिनीमा बस्ने गरि निमन्त्रणा गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवका अवसरमा लुम्बिनीको भ्रमण पनि हुने , कम खर्चमा परिवार सहित दुई दिन लुम्बिनीमा बिताउन सकिने गरि होटलहरुले सस्तो प्याकेज पनि ल्याएको संघका महासचिव पुरुषोत्तम अर्यालले बताउनु भयो ।

महोत्सवमा लुम्बिनीका होटलहरुको रुममा ५० देखि ६० प्रतिशत बढी छुटको साथै सुपथ मुल्यमा ब्रेकफास्ट, लन्च एवम डिनर पहुनाले पाउने छ्न । महोत्सवलाई ब्यवस्थित बनाउन छोटो दुरिका लागि निशुल्क यातायातको साधनको ब्यवस्था समेत गरिएको छ ।
भैरहवा, बुटवल, सैनामैना, गैडहवा, फायरलाइन, कपिलवस्तु लगायतका स्थानबाट लुम्बिनीका लागि यातायात सन्चालन हुने संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताउनु भयो । सडक खाना महोत्सवमा लुम्बिनी सांस्कृतिक नगरपालिकासंग जोडिएका अन्य गाउंपालिकाका स्थानीय उत्पादनको प्रवद्धनलाई विषेश जोड दिईने आयोजकले जनाएको छ ।
बौद्धकालिन परिकार देखी स्थानीय उत्पादन, थारु संस्कृतिसंग जोडिएका परिकारका साथै ईण्यिन,थाई,चाईनिज लगायतका खानाका स्टल रहने छन् । सुक्रबार अपराहन्न देखी सुरु हुने महोत्सव शनिबार पनि संचालन हुने छ । महोत्सवमा १ सय ३० स्टल रहेका छन् ।