काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने गरी आन्दोलनको तयारी गरेको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो। हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागको आन्दोलनको स्वरूपमा परिवर्तन गरेको थियो ।
शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताए । बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ ।
नेपाल बार प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै चरणवद्ध आन्दोलनमा छ ।
सुरक्षा व्यवस्था कडा
चोलेन्द्र शमसेर जबरालाई नेपाल बार एशोसियसनले सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी आन्दोलनको घोषणा गरेपछि सर्वोच्च अदालत परिषरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज बिहान १० बजे नेपाल बार आवद्ध कानून व्यवसायीले सर्वोच्च अदालत अगाडि धर्ना दिएर प्रधानन्यायाधीशलाई कार्यकक्षमा प्रवेश रोक्ने रणनीति लिएका छन् ।
त्यसलाई मध्यनजर गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीलाई सर्वोच्च परिसरमा तैनाथ गरिएको छ । देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारसँगै जोडिएको सर्वोच्च अदालत क्षेत्र निषेधित क्षेत्रमा पर्छ । हिजो कानून व्यवसायीले निषेधित क्षेत्र तोडेर कोणसभा आयोजना गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्यसपछि रुष्ट कानून व्यवसायीले प्रधानन्यायाधीशविरुद्धको निर्णायक आन्दोलनको चेतावनी दिएका थिए । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा मागेका छन् ।