भैरहवा । भैरहवामा रहको भिम अस्पतालले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । दैनिक २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता सहितको प्लान्ट बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका हुन ।
२ करोड ६० लाख लगानीमा प्रदेशमै ठूलो क्षमताको अक्सिजन प्लाण्टको रुपमा स्थापना भएको प्लान्टले वायुमण्डलमा रहेको हावाबाट अक्सिजन उत्पादन गर्ने छ । पलान्ट संचालनसँगै अस्पतालमा अक्सिजन अभावको समस्या समाधान हुनुका साथै अक्सिजन भर्नका लागि सिलिन्डर जिल्लाबाहिर पठाउनु पर्ने र अक्सिजनको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको अस्पतालले जानकारी दिएको छ ।
पिडी ईन्जिनियरिङ प्रालीको प्रविधिक संयोजन, टर्कीमा निर्मित प्लान्टले उत्पादित अक्सिजन सिधै विरामीको बेड सम्म पापयपलाइन मार्फत र सिलिण्डरमा भरेर भण्डारण गर्न पनि सकिने प्रालीका प्रवन्ध निर्देशक धर्म पौडेलले बताए ।
अक्सिजन प्लाण्टको उद्घाटन गर्दै मन्त्री थारुले बिरामीको उपचारको सहजताका लागि र अक्सिजन अभावको समस्या प्लान्ट संचालन भएसँगै समाधान भएको बताए । उनले कोभिड अझै नसकिएकोले अगामी दिनमा पनि महामारी आउने प्रबल सम्भावना रहेकोले जोखिमबाट जोगिनका लागि प्लान्टले ठूलो सहयोग गर्ने बताए । माहमारी आउने सम्भावना रहेकाले यसका लागि अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार जुध्नका लागि तयारी अवस्थामा रहनुपर्ने मन्त्री थारुले बताए ।
प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले अक्सिजन प्लान्ट स्थापना हुनु यस क्षेत्रका नागरिकको लागि खुशीको कुरा भएको बताइन् । उनले कोभिड–१९ को दोस्रो महामारीमा धेरै नागरिकले ज्यान गुमाउनुपरेकाले यसबाट बच्न सावधानी अपनाउनुपर्ने बताइन् ।
भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले १९९० सालमा १५ शैयाको अस्पतालबाट सुरु भएको भिम अस्पतालले त्यसपछि २५ शैया हुदै अहिले ५० शैयाको अस्पतालको रुपमा रहेको बताए । ५० शैयाको अस्पताल भए पनि अहिले भिम अस्पतालबाट १ सय २० शैया बढी राखी उपचार गर्दै आएको छ । रुपन्देही जिल्लाको नमूना अस्पतालको रुपमा अघि बढाउने उद्देश्यका साथ १७ करोडको लगानीमा अत्याधुनिक प्रसुती गृह, विरामी कुरुवाका लागि ५० सिटको प्रतिक्षालय, अत्याधुनिक अस्पताल भवन लगायतका भौतिक संरचनाको स्तर उन्नतिका लागि लागेको बताए । भौतिक संरचना भन्दा पनि जनशक्तिको अभाव रहेकोले यस तर्फ सम्बन्धित निकायले ध्यान पदन आग्रह गरे । आज देखि संचालनमा आएको प्लान्टले हाम्रो अक्सिजिनको दैनिक माग पुरा गरेपनि माहमारीको समयमा अक्सिजनको माग बढेको समयमा यसले राहत हुने बताए ।
अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अस्पतालको सेवाहरु सुधार हुदै गएको बताइन । उनले आफु अस्पताल आएदेखि अस्पतालको सबै क्षेत्रमा सिमति जनशक्तिका वाजुद गुणस्तरीय सेवा र भौतिक सुधारको काम गरेको बताइन ।
भीम अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीको संचालन, अस्पताल विकास समितिका सदस्य संगिता रेग्मीको धन्यवादमा भएको कार्यक्रममा अस्पतालका पूर्व अध्यक्षहरु दिपक क्षेत्री न्यौपाने, आनन्द गुप्ता, हितराज पन्थी लगायतको उपस्थिती रहेको थियो ।