भैरहवा । गएरातिदेखि परेको अविरल वर्षाका कारण रुपन्देही सहित तराईका विभिन्न जिल्लाका धानबाली नष्ट भएका छन। वर्षाले यस क्षेत्रका किसानले तयार पारेको धानबाली वर्षाले ठूलो नोक्सानी बनाएको हो ।
दसैं नसकिदै खेतहरुमा धान पाकेपछि काटेको र पाकेको धान वर्षाले क्षति पुराएको छ । दसैँसँगै यस क्षेत्रका किसानहरुलाई धान भित्राउने चटारो सुरु भएको थियो । पश्चिम तराईका अधिकांश खेतहरुमा असोजको अन्तिम साता पाकिसकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दै छ ।
धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा बिशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरुका खेतमा धान पाकेको थियो । रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोदन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले धान काटेको अवस्थामा खेतमै डुबेको छ भने थोरैले मात्र उठाउन भ्याएका छन् ।
रुपन्देही किसान संघका तिलोचन दाहालले अविरल वर्षाले काटेको र पाकेको धानबालीमा ठूलो नोक्सानी गरेको बताए । उनले भने, अधिकांश किसानले धान बाली भित्राउन काटिसकेका थिए, केहीले मात्र उठाउनसके पनि धेरैको खेतमै डुबेको अवस्था छ, धेरै किसानहरुले आफ्नो मुख्य बालीमा ठूलो नोक्सानी परेको बताएका छन ।
समयमै पानी परेको र मल पनि समयमै पाएकाले अन्य वर्षको तुलनामा यो वर्ष धान खेती बढी हुने अनुमान गरिएको थियो । रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये रुपन्देहीमा यो वर्ष ६५ हजार भन्दा बढी हेक्टरमा धान खेती गरिएको छ ।