भैरहवा । दशैँ आउनु पूर्व नै नेपालको सबै सिमावर्ति भारतिय बजारहरूमा नेपाली उपभोक्ताहरूको घुइँचो लाग्ने गरेको छ । विशेष गरी सिमा क्षेत्रमा रहेका नेपालका ठुला शहरहरूसँग जोडिएका सुनौली, नौतनवा, ककरहवा, भगवानपुर लगायतका भारतीय बजारहरूमा अहिले दिनहु हजारौ नेपाली उपभोक्ताहरू दशैँ तथा चाडपर्वका लागि भन्दै जाने गरेका छन् । चिनी र केही लत्ताकपडा बाहेक अन्य सामानहरू भारतीय प्रिन्ट रेटमै नेपालमा पाइने भए पनि दिनहु खरिदारीका लागि भारत जानेहरूको घुइँचो बढेको हो ।
दशैँ तिहार जस्ता पर्वमा मात्र सामान्य खरिदारीमा अर्बौ रूपैयाँ भारतिने गरेको पाइएको छ । अहिले भारतसँग जोडिएका खुला भारतीय सिमावर्ति शहरहरूमा दैनिक लाखौँ फुटकर व्यापार हुने गरेको छ ।
यसैले पनि दशैँ पर्व नेपालीको भए पनि व्यापारमा भने भारतीयहरूको लागि वास्तविक रूपमा दशैँ आउने गरेको छ । सिमावर्ती भारतीय बजार मा नेपाली उपभोक्ताको घँुइचो लागिरहँदा नेपालका बजारहरूमा भने खासै चहल पहल देखिदैँन । नेपाली उपभोक्ताहरू सिमावर्ति बजारमा दैनिक उपभोग्य सामान, चिनी, लत्ताकपडा ,तेल, बनस्पती घिउ लगायतका सामग्री खरीद गर्न अत्यधिक रूपमा पुग्ने गरेका छन् ।
चाडपर्वका बेलामा मात्रै अर्बो रूपैयाँको खुद्रा व्यापार नेपालीले भारतमा गर्ने भए पनि त्यसबाट नेपाल सरकारले भने कुनै लाभ लिन सकेको छैन् । भन्सार कार्यालयले १ हजार रूपैयाँ भन्दा बढीको सामान खरीद गरी ल्याएमा संक्षिप्त प्रज्ञापन लगाउने निर्णय छ तर राम्रो सँग कार्यान्वयन नहँदा राज्यले फाइदा लिन सकेको छैन भने कर नतिरी आयात गरिने सामानहरू सस्तोमा पाइयो भन्दै सामान लिएर आउनेहरू बढेका बढ्यै भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपाने बताए । हाम्रा उपभोक्ता जागरूक नहँदा र वारी र पारी पाइने सामानको मुल्य गुणस्तरको तुलना गर्न नसक्दा खरिदारीका लागि धेरै भारतिने गरेका छन् । यसमा राज्यको नीति पनि कमजोर देखिन्छ, अध्यक्ष न्यौपानेले भने ।
सिमावर्ति सुनौली बजारका ओम किराना स्टोर्शका प्रोपोराईटर भन्छन्, अहिले दशैँका लागि खरिद गर्न आउने नेपालीहरूको चाप अत्यधिक बढी छ । अझ बिदाको दिनमा झन भिड हुन्छ । नेपालमा भन्दा सामान सस्तो पाइने भन्दै गएको तर धेरै भिडभाडले गर्दा भने जस्तो सामान खरीदका लागि छनौट गर्नै नपाएको नेपाली गृहिणी अनिशा थापाले बताइन् । महिलाहरू सारी, कुर्ता, किराना लगायतका सामान खरीदका लागि अधिक आउने गरेका छन उनले भनिन
सुनौली बजारमा खरिदारी गर्न रूपन्देहीको भैरहवा, बुटवल र अन्य ग्रामिण क्षेत्रका उपभोक्ता मात्र नभई छिमेकी जिल्ला पाल्पा, गुल्मी अर्घाखाँचीका उपभोक्ता समेत आउने गरेका छन् । सिमावर्ति बजारमा चिनी र कपडाहरू केही सस्तो भए पनि अन्य सामानहरूको मुल्यमा नेपाल र भारतीय बजारमा खासै फरक नरहेको तर पनि नेपालीहरू त्यतै धाउने गरेको नेपाली व्यवसायी बताउँछन् ।
उपभोक्तामा चेतनाको अभाव छ, सचेत छैनन् सस्तो पाइने भन्दै अखाद्य, गुणस्तरहीन सामान किन्दा समेत उपभोक्ताहरूले थाहा पाउँदैनन भैरहवाका किराना व्यवसायी टिपी न्यौपाने बताउछन । उपभोक्ताहरूले सस्तोको नाममा अखाद्य तथा ओरीजिनल भन्दै स्थानीय स्तरमै निर्मित र लेबलिंग गरेका सामग्री खरीद गर्ने गरेका छन् । सुनौलीका बजारमा पाइने दैनिक उपभोग्य वस्तुहरू तेल, वनस्पति घिउ गुणस्तरहिन हुने गरेको न्यौपानेले बताए ।
जनचेतनाको अभाबले सस्तो पाइने भन्दै दशैँका बेला मात्रै अर्बौ रूपैयाँ सामान्य खरिदारीका नाममा भारतिने गरेको छ । यसले पक्कै पनि नेपालको अर्थतन्त्रलाई फाइदा पुर्याउँदैन ।