भैरहवा । बेलहिया–सुनौली नाका सुचारु भएपछि रुपन्देहीको अर्को ठूलो नाका ककरहवा मंगलबारदेखि खुलेकाे छ । भारतको सिद्धार्थनगर जिल्ला जोडिएको उक्त नाकामा पनि पहिलाको झै एसएसबीले अवरोध गरेको थियो । १८ महिनासम्म बिभिन्न चोरबाटो प्रयोग गरि ककरहवाबाट भारत जाने नेपाली र भारतबाट नेपाल आउने भारतीय दुवै देशका नागरिक अब सहज रुपमा ओहोदोहोर गर्न पाउने भएका हुन । विगत करिब डेढ वर्षदेखि बन्द रहेको भारतसँग जोडिएको सीमा नाका मंगलबार देखि दुवै देशको नागरिक र जनप्रतिनिधिको माग बमोजिम भारतीय एसएसबीले ककरहवाबाट पनि आवागमन सुचारु गरेको छ ।
एकाबिहानै ककरहवा नाका खुले पछि दुवै देशका नागरिकको हर्षको सीमा नाघेको थियो । रोटीबेटीको मात्र नभई अहिले स्थानीय व्यापारको पनि सम्बन्ध रहेको दुवै देश बिच सीमा खेले पनि स्थानीयहरुले एक अर्कालाई मिठाई खुवाएर खुशी साटेका थिए । सीमा खुल्ने खबर पाएका स्थानीयहरु बिहानैदेखी दुवै देशको झण्डा बोकेर उभिएका थिए । सीमामै बिभिन्न बाजागाजासहित भारत र नेपालको जय जयकार हँुदै थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी भारतीय क्षेत्रमै पुगेर रिबन काटेर १८ महिनादेखि बन्द रहेको ब्यरिकेटर उठाउँदा स्थानीयहरुले आतिशबाजी समेत गरेका थिए । उनले दुवै देशको सीमा कसनै तनावको कारण नभई बिश्वब्यायी रुपमा फैलिएको कोभिडको कारण रहेकोले अब यो कम भए संगै सीमा सुचारु हुनु सुखद रहेको बताए ।
भारतीय नाका खुलेसँगै दैनिक सयौं मानिस पैदल आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । कोरोना महामारीको कारण सरकारद्वारा लकडाउन घोषणासँगै २०७६ चैत ११ गतेदेखि भारतीय सीमा नाका बन्द थियो । चाडपर्वको मुखमा सीमा नाका खुला भएपछि स्थानीयवासी उत्साहित भएका छन् । चाडपर्वमा कपडा, किराना लगायत आवश्यक सामान खरिद गर्न अधिकांश जनता सीमावर्ती बजारमा निर्भर रहन्छन् ।