भैरहवा । रुपन्देहीमा शुक्रबार देखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । असोज २२ र २३ गते भित्रै सबै पालिकामा एकसाथ खोप दिइने भएको हो । जिल्लाअन्तर्गतका खोप केन्द्रहरूबाट रुपन्देहीबासीलाई भेरोसेल खोप दिन लागिएको हो ।
जिल्ला खोप समन्वय समितिको निर्देशनानुसार १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै सबैलाई खोप दिने निर्णय गरिएको कार्यालयले जनाएको छ ।
दशैँअघि नै सबै पालिकाहरुमा एकैसाथ खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयले सबै पालिकालाइ परिपत्र गरेको छ ।
रुपन्देहीले स्थानीय पालिकाहरुको स्वास्थ्य शाखासँग समन्वय गरी खोप केन्द्रहरु निर्धारण गरेको छ । आफूलाई पायकपर्ने स्थानमा गएर खोप लिन सकिने स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिए ।
यता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको बताएका छन महामनगरमा खोप सुरु भएको छ, उपत्यका बाहिर पनि खोप पठाइएको उनले बताए । राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए ।
यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनको भनाई छ । दसैंलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए ।