कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा झाडापखाला फैलिएको छ । वडा ७, ८ र ९ मा गरी झन्डै एक सय जना २० जना बिरामी परेका छन् । झाडापखालाको विरामीले अस्पताल भरिभराउ छ ।
बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ । गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र प्रादेशिक अस्पताल लुम्बिनी रिफर गरिएको छ । १३ जनालाई जिल्ला अस्पताल तौलिहवामा र सात जनालाई लुम्बिनीमा रिफर गरिएको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिनुभयो ।
गए राति देखि झाडापखालाका बिरामीका नयाँ बिरामी आउनेक्रम बढेको थियो नगर प्रमुख शाहाले भन्नु भयो । विरामी को चाँप बढ्दै गए पछि उपचारमा खटिने जिल्ला अस्पताल कपिलवस्तुबाट समेत स्वास्थ्यकर्मि खटिएको नगरप्रमुख शाहले बताउनु भयो ।
बिरामीको उपचारका लागि बेड अभाव भएको छ । अहिले कतिपय बिरामीको गाउँका निजी क्लिनिकमा उपचार भइरहेको छ । एउटै बेडमा दुई/तीन जना बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डाक्टर चौधरीले जानकारी दिनुभयो । शिवराज अस्पताल छेउमै रहेको स्कुलको कोठा तथा टेन्टमा समेत बेडको व्यवस्था गरिएको छ । झाडापखाला कसरी फैलियो भन्नेबारेमा अध्ययन भइरहेको र अहिलेसम्म रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
बहादुरगंज आसपासका गाउँहरूमा बिरामी बढ्दा शिवराज अस्पतालमा बिरामीको चाप बढेको छ । बहादुरगंजमा उपचारका स्रोतसाधन अपुग हुँदा जिल्लाबाट सहयोग लिएर तत्कालको लागि सेवा प्रदान गरेकाका छौं थप सेवाको लागि प्रदेशबाट पनि सेवा प्रदान गर्ने गरी ब्यवस्था भइरहेका नगरप्रमुख शाहले बताउनु भयो ।
कृष्णनगरको बहादुरगन्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामीको सख्या एक सय भन्दा बढी छ । तीन जनाको ज्यान गइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु झाडापखालाको महामारी नियन्त्रणका लागि आवश्यक औषधी सहित शिवराज अस्पतालमा आइपुगेको उहाँले बताउनु भयो ।