भैरहवा । नेपाल तेक्वान्दो संघको चौथो केन्द्रीय महाधिवेशन शनिबार भैरहवामा हुने भएको छ । संघले बिहीबार पत्रकार सम्मेलन मार्फत महाधिवेशन कार्यक्रमबारे जानकारी गराएको छ ।
२०४६ सालबाट नेपाल मार्सल आर्टस संघ मार्फत लामो समय तदर्थ समिति रहेको संघले पहिलो पटक २०६६ मा महाधिवेशनबाट तेक्वान्दोलाई संगठित र संस्थागत गरेको हो । तेक्वान्दो खेलको विकास गर्न स्थापित संघले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा असोज १६ गते महाधिवेशन गर्न लागेको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले बताउनु भयो ।
‘हाम्रो महाधिवेशन राजधानी केन्द्रित नभई बाहिर पनि गर्नु पर्छ भन्ने मान्यताका साथ विगतका महाधिवेशन जस्तै राजधानी बाहिर भैरहवाबाट गर्न लागेका छौ ’ । ‘जनमानसमा जानकारी गराउने, कोभिडले थला परेको पर्यटन क्षेत्रमा सहयोग पुगोस र आन्तरिक पर्यटन प्रवद्र्धन गरी संघलाई व्यापकता दिन भैरहवामा आयोजना गरिएको अध्यक्ष राणाले बताउनु भयो ।
महाधिवेशनमा देशभरबाट ५६ जिल्लाका जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा प्रतिनिधी, सात प्रदेशका अध्यक्ष तथा विभिन्न क्षेत्रका प्रतिनिधि, पर्यवेक्षक र अतिथीहरुको सहभागिता हुनेछ । संघको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र उक्त नेतृत्वले आगामी ४ वर्ष संघलाई नयाँ योजना र कार्यक्रमसहित सञ्चालन गर्ने छ । महाधिवेशनबाट अध्यक्ष सहित तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र ११ जना सदस्य निर्वाचित हुनेछ । संघले निर्वाचनको लागि एक साताअघिबाट नै निर्वाचन कार्यक्रम तय गरिसकेको छ ।

शनिबार हुने अधिवेशनमा पुनः राणाकै उम्मेदवारी परेको छ । उनले संघलाई सरकारले विश्वास गरेर जिम्मेवार बनाउन, सरकारले सबै संघलाई एउटै दृष्किोणले हेरेकोले यस्को वर्गीकरण गर्न र तेकवान्दोबाट नै देशले ओलम्पिकमा पदक ल्याउन सकिने भएकोले अबको नेतृत्वले यसलाई प्राथमिकता राख्ने बताउनु भयाे ।
त्यस्तै राष्ट्रिय टिमलाई प्रथामिता दिने, तेकवान्दो भवनमा रहेको टेनिङ सेन्टरलाई विश्व तेकवान्दो महासंघले क्षेत्रिय प्रशिक्षण केन्द्रको मान्यता दिएकोले यसलाई तदारुकता दिने, सरकारबाट तेक्वान्दोको विकासका लागि पहल नभएकोले सहयोग समन्वय र सहकार्य गर्नेकाम संघले गर्ने महासचिव दिपराज गुरुङले बताउनु भयो ।
संघले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने कार्यमा लागे पनि सरकारले ३ वर्षबाट एक रुपैया पनि लगानी नगरेकोमा दुख व्यक्त गर्दै तेक्वान्दो खेल प्रति सरकारको दृष्टिकोण परिवर्तन गर्नु पर्ने उनीहरुले बताए । संघले यसअघि विरगंज, झापा र बारामा महाधिवेशन सफलता पूर्वक सम्पन्न गरेको छ, शनिबार चौथो माहधिवेशन भैरहवामा गर्दैछ ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कासिम मिया, केन्द्रिय सदस्य कोशिश खड्का, नेपाल तेक्वान्दो संघ रुपन्देहीका अध्यक्ष दिपेन्द्र बुढाप्रिथी लगायतको उपस्थिती रहेको थियो ।