भैरहवा । रुपन्देहीमा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १८० जनाको पिसीआर परीक्षणबाट सो संख्यामा नयाँ संक्रमित थपिएका हुन । यस्तै यो अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार थपिएका संक्रमित मध्ये बुटवल उपमहानगरपालिकाका २२, तिलोत्तमा नगरपालिकामा १६ जना, सैनामैना नगरपालिकामा ६जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा २ जना र सिद्धार्थनगर नगरपालिकामा १ जना रहेका छन ।
पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५२० जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४४८ पुगेको छ ।
नेपालमा ४० हजार नाघ्यो
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार चार सय तीन जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार तीन सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर र एन्टिजेन गरी १६ हजार आठ सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय तीन जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । परीक्षणको २० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १७ हजार पाँच सय ३० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय चार जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार एक सय ७३ जना पुगेको छ ।
यही अवधिमा कोरोना सङ्क्रमणका कारण ४२ जनाको ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ९६ पुगेको छ । कोरोनाका सङ्क्रमितमध्ये सात सय ७० जनाको आईसीयू र एक सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।