भैरहवा । कोरोना माहामारीको तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशमा आवश्यक तयारी सुरु गरिएको छ । प्रदेशका अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक व्यवस्थापनका काम भइरहेका छन् ।
प्रादेशिक अस्पताल बुटवलले २० बेडको आइसियु सेवा सुरु गरेको छ भने थप ३५ बेडको आइसियु बनाउन काम सुरु भएको छ । अस्पतालले २४ वटा भेन्टिलेटर व्यवस्था गरी बालबालिकालाई समेत मिल्ने गरी पाइप लाइन जडान गरेको छ ।
एउटा प्लान्टबाट दैनिक दुई सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन हुने गरी दुई वटा अक्सिजन प्लान्टसमेत स्थापना गरिरहेको छ । सम्भावित तेस्रो लहर व्यवस्थापनलाई भन्दै लुम्बिनी प्रदेशका ४ वटा कोरोना विशेष अस्पतालहरूमा आइसियु, एसडियु र भेन्टिलेटरको क्षमता बढाइएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदकुमार गिरीले जानकारी दिनुभयो ।
त्यस्तै, लुम्बिनीका विशेष ४ वटा कोरोना अस्पतालबाहेकका प्रदेश माताहातका अन्य १३ वटा जनरल अस्पतालहरूमा पनि कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै आइसियु, एसडियु, भेन्टिलेटर र स्वास्थ्यकर्मी थप गरिएको पनि उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशको भारतीय सीमा क्षेत्रमा जोडिएका जिल्लाका नाकाहरु खुल्ला रहने भएकाले भारतमा कोरोनाको तेस्रो लहर बढेसगै नेपालमा पनि बढ्न सुरु हुने बताए। नाकामा रोकथाम छैन दैनिक हजारौं मानिस आवतजावत गरिरहेका छन्। नाकाक्षेत्रमा सरकारको निगरानी कम छ ।
लुम्बिनी प्रदेश सरकारले त्यहाँको जनसक्तिलाई मेडिकल कियरबारे प्रशिक्षण थालेको छ । कोरोना भ्याक्सिन सबैले लगाउन पाएको छैन । जबसम्म सबैले भ्याक्सिन लगाउन पाउँदैनन् तबसम्म सुरक्षित महसुस गर्न सकिन्न ।
१३ वटा प्रदेश माताहातका अस्पतालहरुमा कम्तीमा ५ वटा आइसियु बेड र २५ बेडका एसडियु बन्ने प्रक्रियामा छन् । हरेक अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भइरहेका छन् । लुम्बिनी प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा ४८३ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।