Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीमा निषेधाज्ञा खुकुलो भएसंगै भरिन थाले कोभिड विरामीले अस्पताल


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७८ शुक्रवार
  • 990
    SHARES

रुपन्देहीमा निषेधाज्ञा खुकुलो भएसंगै भरिन थाले कोभिड विरामीले अस्पताल

भैरहवा । रुपन्देही जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसंगै  संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा संक्रमण दर घट्दै गएपछि खुकुलो बनाउदै लगेको छ । जसका कारण जिल्लामा संक्रिय संक्रमितको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार जिल्लामा  तीन सय ६० जना सक्रिय संक्रमित रहेका छन् । असार १५ गते २२९ जना सक्रिय संक्रमित रहेको जिल्लामा दैनिक रुपमा संक्रमित बढ्दै गएसंगै हाल ३६० जना संक्रमित उपचाररत छन ।

प्रतिदिन थपिने संक्रमितको संख्या बढ्दै गएका कारण निको हुने भन्दा संक्रमित हुनेको सख्या अधिक रहेको कार्यालयको तथ्याङ्कमा छ । थपिएका संक्रमितहरुमध्ये सबैभन्दा धेरै भिडभाड हुने शहरी क्षेत्रका रहेको कार्यालयको तथ्याङ्कमा छ । पछिल्ला दुई सातादेखि थपिएका संक्रमितहरुमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरभित्रका रहेका छन् । त्यसपछि तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र  देवदहका रहेका छन् ।

संक्रमण परीक्षण गराउने र संक्रमण पुष्टि भएर अस्पताल हुनेको संख्या बढ्दै गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकले निषेधाज्ञा खुकुलो भएसँगै अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका बिरामीको संख्या बढेको बताए ।

बिहीबार दिउंसोसम्म अस्पतालको आकस्मिक कक्षमा मात्रै कोरोना संक्रमण पुष्टि भएका २१ जना बिरामी भर्ना भएका छन् । कोभिडका मात्रै ४७ जना बिरामी अस्पतालमा उपचाररत छन् । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो आदेशमा माछामासु, तरकारी, फलफूल, दुधजन्य सामग्री बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ । तर निषेधाज्ञा खुकुलो भएसँगै यी पसलहरु दिनभर जसो नै खुला देखिन्छन्। अन्य पसल तथा व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म मात्र खोल्न भनिएको तोकिएको समय बाहेकका समयमा समेत पसलहरु खुलेका छन्। पसलहरुमा भिडभाड समेत देखिन्छ।

पछिल्लो निषेधाज्ञा सम्बन्धी आदेशमा सबै प्रकारका सभा, पार्टी प्यालेश, सिनेमाहल, सेमिनार तालिम गोष्ठी, सम्मेलन सैलुन, मनोरञ्जनस्थल, व्युटीपार्लर र स्विमिङ पुल, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना र हाटबजार आदि सञ्चालन नगर्ने भनेर उल्लेख गरिएको छ। तर यी अधिकांश व्यवसायसँगै शैलुन र व्युटीपार्लरका पसल खुलेका छन् ।  यी क्षेत्रमा स्थानीय प्रशासनको चासो नै छैन।

कसैलाई निषेधाज्ञा उल्लंघन गरेको भनेर जरिवाना तिराउनेसम्मका सजाय दिइएको छ भने कसैले होटल, रेष्टुरेन्ट, फुटसल, कभर्ड हल चलाउँदा नदेखेजस्तै गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापा मापदण्डहरु उल्लंघन भइरहेको र प्रहरीले कारवाही पनि गरिरहेको बताउँछन्।

‘भैरहवामा पनि पसल सञ्चालकहरुलाई निन्त्रणमा लिएका थियौं। जिल्ला प्रहरी मातहत अन्य इकाइहरुलाई पनि मापदण्डको कार्यान्वयन गराउन भनेका छौ।’ उनले भने ‘प्रहरीले जनशक्ती र क्षमताले भ्याएसम्म मापदण्ड पालना गराउन लागेको छ ।’


लुम्बिनी चिन्तन

थप समाचार