भैरहवा । सरकारले कोरोना भाइरस विरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आजदेखि जेष्ठ नागरिकलाई लगाउंदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ ।
खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिदै छ । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले करीब पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको जानकारी दिए ।
खोप अभियान आजदेखि यही असार २४ गतेसम्म सञ्चालन हुने छ । उनका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरो सेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइने छ । खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९५४ ले दोस्रो र २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।
रुपन्देहीमा १४ हजार जनालाई खोप
रुपन्देहीमा पनि आजबाट कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोजको खोप लगाउन सुरु गरिएको छ । गत जेठ २५ गतेबाट २८ गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज खोप लगाउन थालेका हुन् । ६२ वर्षदेखी ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले पहिलो डोजको खोप लगाएका थिए ।
चिनबाट आएको भेरोसेल खोप पहिलो डोज लगाएको तिन हप्ता नाघेपछि लगाउनुपर्ने हुन्छ । रुपन्देहीमा झण्डै १४ हजार जनालाई दोस्रो डोजको खोप लगाइँदै छ । आज र भोली जिल्लाको ११ वटा स्थानिय तहमा खोप लगाइँदै छ । बाँकी ५ वटा पालिकामा असार २५ र २६ गते खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए ।