भैरहवा असोज १२/
जर्मन प्रविधिबाट एएसी ब्लक बनाउँदै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित नेपाल एएसी कम्पनी प्रालि ‘आईएसओ ९००१ः२०१५’ मान्यता प्राप्त उद्योग बनेको छ । भैरहवामा आयोजित कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि नारायणप्रसाद दवाडीले कम्पनीका अध्यक्ष प्रमोदकुमार यादव र प्रबन्ध निर्देशक धिरज मल्लिकलाई ‘आईएसओ ९००१ः२०१५’ लोगो हस्तान्तरण गर्दै मान्यता प्रदान गरेको घोषणा गरे ।
यो उद्योग पूर्णरुपमा स्वचालित जर्मन प्रविधिबाट संचालित छ । उद्योगको दैनिक २० हजार विभिन्न साइजका ब्लक उत्पादन गर्ने क्षमता छ । तर, भर्खरै उद्योग सुरु गरिएकाले अहिले दैनिक साढे आठ हजार ब्लक उत्पादन हुँदै आएको छ । कम्पनीका अध्यक्ष प्रमोदकुमार यादवले अबको तीन–चार महिनामा पूर्णक्षमतामा उद्योग संचालन हुने जनाए । उनले एएसी ब्लक विश्वभरी नै प्रयोग गरिने उच्च गुणस्तरको भवन निर्माण सामाग्री भएको जनाए ।
‘विश्वका धेरै मुलुकमा आजभोलि रातो ईंटा विस्थापित गरी एएसी ब्लक प्रयोग गरिन्छ’, उनले भने, ‘सस्तो, गुणस्तर, भूकम्प प्रतिरोधी र हलुका भएकाले पनि यसको प्रयोग नेपालमा समेत बढिरहेको छ ।’ उनका अनुसार यो ब्लक वातावरणमैत्री पनि छ । नेपाल सरकारले स्थानीय तहमा बनाइरहेका स्वास्थ्य संस्थाका भवनहरुमा समेत यसको प्रयोग गर्ने नीति लिएको छ ।
‘ठूलाठूला आवासीय भवन, औद्योगिक तथा व्यापारिक भवन, कार्यालय, हस्पिटल, पर्खाल, विद्यालय तथा कलेजमा पनि नेपाल एएसी ब्लकको प्रयोग राम्रो छ’, अध्यक्ष यादवले भने, ‘उद्योग अझै पूर्णक्षमतामा संचालन गर्न सकेका छैनौं । तर, अहिलेको दैनिक उत्पादनले थेग्न सकेको छैन । माग अत्यधिक छ ।’ उनले अहिले मुलुकका धेरै ठाउँमा विक्री गरिरहेको र आगामी दिनमा भारत निर्यात समेत गरिने बताए ।
हलुका वजन, ध्वनि प्रतिरोधक, छिटोछरितो, ओस प्रतिरोधक यसको विशेषता भएको कम्पनीका विक्री प्रबन्धक दीपक भट्टराईले जानकारी दिए । ‘यो भूकम्प प्रतिरोधी पनि छ । यसको प्रयोगले निर्माण सामाग्री र समयको बचत पनि हुन्छ । दिगो निर्माण र पुनः प्रयोगका लागि राम्रो मानिन्छ’, उनले भने, ‘नेपाल एएसी ब्लक चलनचल्तीको ईंटा ब्लकभन्दा ठूलो र एकै आकारको हुन्छ । वजन कम हुने भएकाले भवन तथा पर्खाललाई मजबुत बनाउँछ । परम्परागत निर्माण भन्दा साइज ठूलो भएकाले निर्माणको काम छिटो गर्न सकिन्छ ।’
हाललाई एएसी ब्लक ४, ६ र ८ इन्चको उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । ‘आवश्यकताका आधारमा अन्य साइजका पनि उत्पादन गर्ने तयारीमा छौं’, भट्टराईले भने । उनका अनुसार निर्माणका क्रममा जोडाइपछि भिजाउन नपर्ने, मजबुत पकड, पातलोतह–हलुका बचत, श्रमलागत र समयको बचत, काम गर्न सजिलो, उच्च भारबहन क्षमता यसका विशेषता हुन् । एएसी ब्लकको आयु ८० देखि सय वर्ष हुने कम्पनीले दावी गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक धिरज मल्लिकले नेपाली बजारमा एएसी ब्लकको माग बढ्दै गएको जनाए । ‘परम्परागत ईंटाभन्दा बलियो हुने भएपछि यसको माग बढिरहेको हो’, उनले भने, ‘आईएसओ मान्यता पाएपछि हामी गुणस्तरमा झनै राम्रो बनेका छौं । नेपालको माग सुहाउँदो उत्पादन र विक्रीमा लागिपरेका छौं ।’
कम्पनीका प्रमुख कार्यकारी अधिकृत साजन भट्टराईले नेपाल एएसी ब्लकबाट घर तथा भवन बनाउँदा परम्परागत रातो ईंटा भन्दा १५–३० प्रतिशत सस्तो पर्न जाने बताए । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल आएर एकलौटी रुपमा नेपाल एएसी ब्लकको विक्रीवितरण गर्दै आएको उनले जनाए । ‘आगामी दिनमा मुलुकभर नै हाम्रो उत्पादन विक्री गर्ने लक्ष्य छ’, उनले भने, ‘यसले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने नै छ । यसका साथै आमनागरिकले बलियो ब्लकबाट आफ्ना भौतिक संरचना बनाउन पाउनुहुनेछ ।’