Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गौतम बुद्ध विमानस्थलमा आइएलएसको विकल्पमा भू–उपग्रहमा आधारित प्रविधि जडान गर्ने तयारी


  • लुम्बिनी चिन्तन
  • जेठ २८, २०८१ सोमवार
  • 342
    SHARES

गौतम बुद्ध विमानस्थलमा आइएलएसको विकल्पमा भू–उपग्रहमा आधारित प्रविधि जडान गर्ने तयारी

दीपेश पछाई , भैरहवा जेठ २८/

गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल सञ्चालनको दुई वर्षपछि आइएलएस प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन प्रफरमेसन अथोराइजेसन रिक्वायार्ड)  प्रविधि जडान हुने भएको छ। आरएनपी–एआर भू–उपग्रहमा आधारित उडान प्रविधि हो।

विमानस्थलमा झन्डै एक अर्ब खर्चेर इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) जडान गरिएको थियो। विमानस्थलमा कमजोर भिजिबिलिटी हुँदा पनि उडान–अवतरण गर्न सकियोस् भनेर आइएलएस जडान गरिएको भए पनि यसको सञ्चालनका लागि विविध कठिनाइहरू आएपछि आरएनपी–एआर सिस्टम जडानका लागि प्रक्रिया सुरु गरेको विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीले जानकारी दिए।

आरएनपी–एआर प्रविधिका लागि जमिनमा कुनै पूर्वाधार बनाउनुपर्दैन। अन्तर्राष्ट्रिय उडानका जहाजमा यो अनबोर्ड नै हुन्छ । विमान कम्पनीले वायुयानचालकलाई तालिम र उडानको स्वीकृति दिए मात्र पुग्छ। हाल भारतको असहमतिका कारण गौतम बुद्ध विमानस्थलमा आइएलएस प्रयोगमा आउन सकेको छैन। आरएनपी–एआर जडान भएमा तुलनात्मक रूपमा न्यून भिजिबिलिटीमा पनि उडान सञ्चालन गर्न सकिन्छ। 

गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलमा आइएलएस प्रविधिको विकल्पमा आरएनपी–एआर सिस्टम जडान गर्न सकिने अवस्था रहे पनि यसबारे कसैले चासो देखाएका थिएनन्। यो प्रविधि निःशुल्क रूपमा लिन सकिने विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारी बताउँछन्। ‘हामीले यो प्रविधि जडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुरोध गरेका छौँ। यो काम भएमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटीले उडानमा समस्या हुँदैन,’ उनले भने।

आइएलएस प्रविधिबाट लिन सकिने सुविधा यो प्रविधिबाटै लिन सकिने उनले बताए। नेपालमा आइएलएस प्रविधि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जोडिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रविधि जडान छ।

३२ अर्बभन्दा बढी लगानी गरेर बनाइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा नआउँदा पर्यटन क्षेत्रमा लगानी भएको ६० अर्बभन्दा बढी जोखिममा रहेको सिद्धार्थ होटेल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए।


लुम्बिनी चिन्तन

थप समाचार