भैरहवा फागुन ३/
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुक्रबारदेखि भैरहवामा सुरु हुन लागेको ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ को तयारी पूरा भएको छ।
सम्मेलनमा ७७ वटै जिल्लाका करिब दुई सय ५० देखि तीन सय महिला उद्यमीको सहभागिता रहने उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठले बताइन्।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौती, युवा महिला–स्टार्टअपका लागि गरिएका पहल र भएका व्यवस्थालगायतका पाँच विषयमा विज्ञहरूसँग छुट्टाछुट्टै छलफल हुनेछ।
महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवं सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने सम्मेलनमा संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय, प्रदेशस्तरीय, स्थानीय प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू एवं सम्बन्धित विज्ञको उपस्थिति रहने जनाइएको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले दुईदिने सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा प्रस्तुत गरिने बताए। सम्मेलन अवधिमा सातै प्रदेशका महिला उद्यमीको उत्पादनको प्रदर्शनीसहित प्रायोजकहरू गरी १० वटा स्टल रहनेछन्।