भैरहवा पौष १/
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरवात भएको छ । शनिवार एक समारोहबीच विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दुतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर पुन सुरुवात गरेका थिए ।
युनिभर्सल पिस सेक्रेसी द्वारा आयोजित गुम्बाको पुनःनिर्माणको शिलान्यास समारोहमा सहभागी हुदै उपाध्यक्ष डा.लामा सहितको उपस्तिथिमा बौद्धधर्मगुरु, भक्तजन, समाजसेवी, व्यवसायी संघ रुपन्देहीका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि सहितको संयुक्त उपस्तिथिमा श्रमदान गरीएको थियो ।

उक्त गुम्बाको शिलान्यास कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले गुम्बाहरुले लुम्बिनीप्रति अझै गहिरो आस्था महत्त्व र विश्वास सहित सुन्दरता बढाएको कारण यसको विकास संरक्षण र प्रवर्द्धन गर्नु लुम्बिनी विकास कोषको दायित्व रहेको बताए ।
विश्व युद्ध र अशान्तिले आक्रान्त बन्दै गएको कुरा अवगत गराउदै उपाध्यक्ष डा.लामाले विश्वमा सबैले बुद्ध र बुद्ध दर्शनको अनुसरण गर्दै जानेको संख्या बढ्दै गएकाले शान्तिको श्रोतकोरुपमा लुम्बिनीलाई विकास गर्न विकास कोष प्रतिबद्ध रहेको बताए ।
समारोहमा गुरु रिन्पोछेले कोभिड अघि निर्माण सुरु गरेको रोकिएको काम पुन सुरुवात गरिएको बताए । नेपाल भौतिक रुपमा कम्जोर भएपनि संसारको सबै भन्दा धनि हुने श्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने धारणा राखे। करोडौं विदेशीहरु बुद्धको धर्मको लागि ललायीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

लुम्बिनी परिसरमा विभिन्न देशले आकर्षक बुद्ध गुम्बाहरु बनाइरहेका छन् । गुम्बाहरु पर्यटकका लागि आकर्षण बन्ने गरेका छन् । लुम्बिनीमा धेरैजसो मुलुकले गुम्बा बनाइसकेका छन् भने अमेरिका सरकार तथा दाताहरूको सहयोगमा बनाइने उक्त गुम्बा युनिभर्सल पिस सेक्रेसी फाउन्डेसनले निर्माण गर्ने छ । उक्त संस्थाका अध्यक्ष धर्मगुरु श्याल्पा तेन्जिन रिन्पोछे हुन् ।
नेपालको लागि अमेरिकन राजदुतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरुलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्याएको उल्लेख गरिन् । विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ छ ।
कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तराष्ट्रिय अभियान्ता माइकल संङ्ग र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे ।
५ अर्ब लागतमा ३४ सय बर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्व शान्ती धाम ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।