Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै देउवालाई ज्ञापनपत्र


  • लुम्बिनी चिन्तन
  • मंसिर १२, २०८० मंगलवार
  • 370
    SHARES

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै देउवालाई ज्ञापनपत्र

भैरहवा मंसिर १२/

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै रुपन्देहीका उद्योगी व्यवसायीहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनमा सहभागी हुन मंगलबार भैरहवा आइपुगेका देउवालाई उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देहीले विमानस्थल नियमित सञ्चालनका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिए।

mela bhairahawa.jpg

उद्योगी व्यवसायीहरूले सातबुँदे माग राख्दै कांग्रेस सभापति देउवालाई ज्ञापनपत्र बुझाएको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। ‘राष्ट्रिय ध्वजाबाहकको उडान सुरु नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलाइन्सहरूले अपनत्व नलिएकाले नेपाल वायुसेवा निगमका जहाज निरन्तर उडानका लागि माग गर्दछौँ,’ उनले भने।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भैरहवाबाट तत्काल मलेसिया मात्र नभई दिल्ली र कतार सेक्टरमा समेत उडान सुरु गर्न व्यवसायीहरूले माग गरेका छन्। बौद्ध धर्मावलम्बीहरूको हबको रूपमा रहेको लुम्बिनीमा नियमित उडानका लागि विश्वका सबै बुद्धिस्ट मुलुकहरूसँग पनि समन्वय गरिदिन व्यवसायीहरूले माग गरेका छन्।

लुम्बिनी प्रदेशलाई आर्थिक रूपमा चलायमान बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने अन्तर्राष्ट्रिय विमानहरूमध्ये कम्तीमा २५ प्रतिशतले अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नका लागि समन्वय गर्नसमेत अनुरोध गरिएको छ। त्यसैगरी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरणहरू शीघ्र सञ्चालनमा ल्याउन पनि माग गरेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले बताए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनअघि र पछि गरी पर्यटन क्षेत्रको सम्भावना देखेर होटेल तथा पर्यटन व्यवसायीले रु. ८० अर्बभन्दा बढी लगानी गरिसकेको अवस्थामा नियमित उडान नहुँदा लगानी असुरक्षित भएको व्यवसायीले बताएका छन्।

उक्त विमानस्थलमा विमान सेवा कम्पनीलाई दिइएको विभिन्न छुट सेवालाई थप एक वर्ष निरन्तरता दिने व्यवस्थाका लागि माग गरिएको उद्योग संघ सिद्धार्थनगरका वरिष्ठ उपाध्यक्ष नेत्र आचार्यले बताए।


लुम्बिनी चिन्तन

थप समाचार