Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थनगरले व्यवसाय करको दर संशोधन नगरे आन्दोलन थाल्ने व्यवसायीको चेतावनी


  • लुम्बिनी चिन्तन
  • मंसिर ८, २०८० शुक्रवार
  • 346
    SHARES

सिद्धार्थनगरले व्यवसाय करको दर संशोधन नगरे आन्दोलन थाल्ने व्यवसायीको चेतावनी

भैरहवामा, ८ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले वृद्धि गरेको व्यवसायको कर संशोधन गर्न यहाँका उद्योगी–व्यवसायीले माग गरेका छन् । शुक्रबार नगरप्रमुख इश्तियाक अहमद खानलाई ध्यानाकर्षण गराउँदै उनीहरुले एकीकृत सम्पत्ति करको दरमा संशोधन गरेको नगरपालिकाले व्यवसायी करको दरमा भने संशोधन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले आर्थिक मन्दीको बेला व्यवसाय करमा वृद्धिले व्यवसायी मारमा परेको बताए ।

संघका पूर्वअध्यक्ष कूल प्रसाद न्यौपानेले आर्थिक मन्दीको समयमा व्यवसायीको ढाड सेक्ने गरी व्यवसाय करमा वृद्धि गरेकाले तत्काल करको दरमा संशोधन गर्न आग्रह गरे । उनले नगरपालिकाको विकासका लागि नै व्यवसायीले कर तिरेको बताए । 

संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले व्यवसायीलाई राहत दिने गरी अगाडि बढ्न आग्रह गरे । पूर्वअध्यक्ष राम कुमार शर्माले नगरपालिकाले व्यवसायीको पीडा बुझ्न आग्रह गरे । उनले विगत वर्ष भन्दा यस वर्ष धेरै कर बुझाउनुपरेको गुनासो गरे ।

संघका वाणिज्य उपाध्यक्ष गोविन्द ज्ञवाली, सचिव मंगल भण्डारी र कोषाध्यक्ष कमल प्रसाद मरासिनीले अब पनि व्यवसायीले उठाएको मागहरु सम्बोधन नभए तालाबन्दी गर्ने चेतावनी दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले व्यवसायीको मागप्रति गम्भिर रहेको बताए । उनले व्यवसायीको जायज मागप्रति सकारात्मक रहेको बताए । उनले व्यवसायीको माग सम्बोधनका लागि कार्यपालिका बैठक बसेर आवश्यक छलफल गरी समाधानमा लाग्ने आश्वासन दिए ।

छलफल तथा ध्यानार्कषण कार्यक्रममा नगर उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, सिद्धार्थनगर-६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार