भैरहवा असोज ६/
सरकारले निजी क्षेत्रको कुरा सुन्ने नचाहेको उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले निजी क्षेत्रको कुरा र माग सरकारले नसुनेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताए ।
शनिबार भैरहवामा भएको चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमा बोल्ने उद्योगी व्यवसायीहरुले व्यवसाय छाडेर विदेश पलायन हुने अवस्थाको सिर्जना हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले सरकारको भर पर्दा अरबौंको लगानीमा जोखिममा परेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशामा लगानी गरेका व्यवसायी मारमा परेको बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्योगी व्यवसायीको हरेक पाइलामा आफू साथ रहेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने र यसका लागि दबाब दिन आन्तरिक उडान समेत बन्द हुने चेतावनी दिए । चर्को बैंक ब्याजदरले उद्योगी व्यवसायी पीडित भएको उनले बताए ।
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले उद्योगी व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताइन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्यापार घाटा र विदेशिने नेपालीको संख्या बढेको बताए । उनले आफू रुपन्देहीको परिवारको सदस्यको रुपमा आएकोले मर्यादित व्यवसाय प्रवद्र्धनमा उद्योगी व्यवसायीको साथ, समन्वय आवश्यक रहेकोमा जोड दिए ।
चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले राज्यले निजी क्षेत्रसँग सम्बन्धित कानून बनाउने समयमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग रायसल्लाह गरी निजी क्षेत्रमैत्री कानून निर्माण गर्नुपर्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उनले थुप्रै व्यवसायिक प्रतिष्ठान बन्द भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले अहिलेको अवस्था उद्योगी व्यवसायीको कारणले सिर्जना नभएको बताए ।
चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले सरकारले निजी क्षेत्रको आवाज सुन्ने नचाहेको बताए । उनले विषम परिस्थितिमा बैंकबाट सहयोग हुनुपर्नेमा बैंकले ब्याजदर बढाएको बताए ।
संस्थाका सल्लाकाकार विश्वराज बराल (अनुप) ले स्वदेशी वस्तुको प्रवद्र्धन गर्न राज्यको भूमिका महत्वपूर्ण हुने बताए । संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विभिन्न चरणको आन्दोलन गरिएको बताए । लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले उद्यमशीलतालाई प्राथमिकता दिएर व्यापार घाटा कम गर्न सकिने बताइन् । माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. तिलोत्तमा–१६, रुपन्देहीका सञ्चालक बसन्त रोक्का क्षेत्रीले मुलुकमा सुधार गर्नुपर्ने धेरै कुराहरु रहेको बताए ।
चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलको प्रमुख आतिथ्यता, चेम्बर अफ कमर्श, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।