भैरहवा, १५ भदौ ।
स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगर, रुपन्देहीले आम नागरिकलाई घर खर्चवापतको न्यूनतम रु. १ हजारसम्मको सम्मान आयातमा छुट गर्न माग गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देही र भैरहवा भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाउँदै अभियानले सुरक्षा व्यवस्था कडा पारी भन्सार छली गर्ने गिरोहलाई रोक्नसमेत माग गरेको हो ।
अभियानका संयोजक नारायण प्रसाद भण्डारीले यस्तो गम्भिर विषयमाथि स्वतन्त्र नागरिक अभियानबाट उठाइएको मागलाई विशेष चासो दिइर नागरिकको सम्मान हुने र भन्सार छली गर्नेलाई कानूनी कारवाही गर्ने गरी व्यवस्था मिलाउन आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तुलनात्मक रुपमा प्रहरीले अवैध सामान बढी बरामद गरेको बताए । उनले भने, ‘नागरिक समाजले प्रशासनलाई सहयोग गर्नुपर्छ । हौसला प्रदान गर्नुपर्छ । हरेक दिन अवैध सामान नियन्त्रणमा लिइएको छ ।’
त्यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले भन्सार प्रशासनलाई सूचना दिएर सहयोग गर्न आग्रह गरे । उनले नेपालको सरकारको नीति अनुसार भन्सार प्रशासन अघि बढेको बताए ।