Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बेलहिया भन्सार कार्यालयले आधा लक्ष्य पनि पूरा गरेन


  • लुम्बिनी चिन्तन
  • श्रावण २, २०८० मंगलवार
  • 552
    SHARES

बेलहिया भन्सार कार्यालयले आधा लक्ष्य पनि पूरा गरेन

भैरहवा साउन २/

बेलहिया भन्सार कार्यालय रूपन्देहीले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको आधा पनि राजश्व संकलन गर्न सकेन।

भन्सार विभागले बेलहिया भन्सार कार्यालयलाई गत आर्थिक वर्षका लागि १ खर्ब ५५ अर्ब ६० करोड ३८ लाख ७९ हजार राजश्व संकलनको लक्ष्य तोकेको थियो। तर असार मसान्तसम्म नै जम्मा ७० अर्ब २ करोड ४० लाख ७६ हजार मात्रै राजश्व संकलन भएको छ। यो दिएको लक्ष्यको जम्मा ४९ दशमलव ४१ प्रतिशत हो।

यो भन्सार कार्यालयका अनुसार विभागले दिएको लक्ष्य अनुरूप पछिल्लो आठ वर्ष यताकै सबैभन्दा कम राजश्व २०७९/८० संकलन भएको हो।

मधेश आन्दोलन र भारतीय नाकाबन्दीका बीचमा आर्थिक वर्ष २०७२–७३ मा विभागले ५२ अर्ब ९४ करोड १२ लाख ५७ हजारको लक्ष्य दिएकोमा कार्यालयले ११७ प्रतिशत लक्ष्य पूरा गरी ६१ अर्ब ९१ करोड २२ लाख ८१ हजार राजश्व संकलन गरेको थियो।

add sai 26.jpg

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा लक्ष्यको १०९ प्रतिशत पूरा गरी ६२ अर्ब ३२ करोड ६४ लाख ९४ हजार राजश्व संकलन गरेको कार्यालयले त्यसयताका लगातार तीन वर्ष दिएको लक्ष्य पूरा गर्न नसके पनि गतवर्ष जस्तो कमजोर अवस्थामा भने थिएन।

आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यको ८६ प्रतिशत पूरा गर्दै ७० अर्ब २८ करोड ९३ लाख ५ हजार, ०७५/७६ मा ८८ प्रतिशत लक्ष्य पूरा गर्दै ८२ अर्ब ३० करोड ५३ लाख ३३ हजार र ०७६/७७ मा ६६ प्रतिशत लक्ष्य पूरा गर्दै ७० अर्ब २९ करोड १५ लाख ९७ हजार राजश्व संकलन गरेको थियो।

 

कोभिड महामारीका बीचमा पनि आर्थिक वर्ष ०७७/७८ मा ११३ प्रतिशत लक्ष्य पूरा गर्दै १ खर्ब १२ अर्ब ५४ करोड ५१ लाख २३ हजार राजश्व संकलन गरेको थियो।

अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा विभागले दिएको लक्ष्य ९ प्रतिशतले पूरा गर्न नसके पनि राजश्व रकम भने १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २४ हजार संकलन भएको थियो।

356771991_960104591728349_8422512543164047612_n.jpg

०७८–७९ मै १ खर्ब २७ अर्बको लक्ष्य पूरा गर्न नसकेको कार्यालयलाई गतवर्ष २२ प्रतिशतले बढाएर लक्ष्य तोकिदिँदा आधा लक्ष्य पनि पूरा हुन सकेन।

आर्थिक वर्षको पहिलो महिना साउनदेखि असारसम्म नै कुनै पनि महिना दिएको लक्ष्य पूरा हुन सकेन।

भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले १ महिना ४६ प्रतिशत र ५ महिना ४५ भन्दा कम राजश्व संकलन हुँदा आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा ५० प्रतिशत पनि लक्ष्य पूरा गर्न नसकिएको बताए।

आर्थिक वर्षको पहिलो साउन महिनामा लक्ष्यको ७० दशमलव ९८ र भदौमा ६६ दशमलव ९३ प्रतिशत राजश्व संकलन गरेको कार्यालयले असोजदेखि माघसम्म ४२ प्रतिशत पनि राजश्व संकलन गर्न सकेन।

असोजमा ४१ दशमलव ४६, कात्तिकमा ३९ दशमलव ६४, मंसिरमा ३९ दशमलव ४४, पुसमा ४० दशमलव ५६ र माघमा ४० दशमलव ८३ प्रतिशत राजश्व संकलन भएको थियो।

bhairahawa namuna.jpg

त्यस्तै, फागुनमा ४६ प्रतिशत लक्ष्य पूरा गरेको कार्यालयले त्यसयताका चार महिना भने ५० प्रतिशत भन्दा माथी राजश्व संकलन गरेको छ।

कार्यालयका अनुसार चैतमा ५७ दशमलव २७ प्रतिशत, वैशाखमा ५४ दशमलव ८९, जेठमा ५३ दशमलव २९ र असारमा ५० दशमलव ४७ प्रतिशत मात्रै राजश्व संकलन भएको छ।

भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा विभागले तोकिदिएको लक्ष्य आधा पनि भेट्टाउन नसकिएको बताए।

अघिल्ला वर्षहरूमा सबभन्दा बढी आयात हुने र राजश्व संकलनमा मुख्य योगदान दिने वस्तुहरूको आयात यसवर्ष न्यून हुँदा राजश्व संकलनमा ह्वात्तै गिरावट आएको हो।

भन्सार कार्यालय प्रमुख पौडेलका अनुसार मधेश आन्दोलन र भारतीय नाकाबन्दीका बेला देशका अन्य भन्सार नाकाहरू प्रभावित रहँदा बेलहिया भन्सार नाका भने त्यति प्रभावित बनेको थिएन। जसले गर्दा आयातकर्ताहरू बेलहियातर्फ आकर्षित भए र राजश्व संकलन बढ्दै गयो।

‘अन्य नाकाहरू सहज बन्दै गएपछि आयातकर्ता पनि पुरानै नाकाबाट आयात गर्न थाल्नुभयो तर, विभागले दिने राजश्व संकलनको लक्ष्य भने थपिँदै गयो,’ पौडेलले भने।

पछिल्लो समय बेलहियाबाट सबभन्दा बढी आयात हुने र राजश्वमा मुख्य योगदान दिँदै आएका जिप, कार, भ्यान, मोटरसाइकल, एमएस बिलेट्स, डिजेल, मोबाइलजस्ता मुख्य वस्तुको आयात ह्वात्तै घट्दा राजश्व रकममा प्रभाव पर्‍यो।

यस्तै, राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा केही समय एलसी अनिवार्य गर्दा र ८ महिनासम्म सरकारले जिप, कार, भ्यान र मोबाइल आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा भारी गिरावट आएको पौडेलले बताए।

सरकारले जिप, कार र भ्यान लगायतका वस्तु आयातमा मंसिरसम्म अनिवार्य मार्जिन राख्नु पर्ने व्यवस्था गरेकोमा पुस १ गतेदेखि भने उक्त प्रावधान हटाएको थियो। त्यसयता पनि ती वस्तुहरूको आयात भने बढ्न सकेन।

कार्यालय प्रमुख पौडेलका अनुसार जिप, कार, भ्यान, मोटरसाईकल, मोबाइल जस्ता वस्तुले मात्रै भन्सार राजश्वमा करिब २५ प्रतिशत योगदान दिँदै आएका थिए।

सरकारले राजश्वमा योगदान दिने फलामे कच्चा पदार्थ एमएस बिलेट्समा अन्तशुल्क बढाउने र स्पन्ज आइरनमा भन्सार महसुल पूर्ण छुट गर्दा पनि राजश्व प्रभावित भएको छ।

भन्सारको तथ्यांक अनुसार राजश्व संकलनमा योगदान दिने मुख्य वस्तु जिप, कार, भ्यानसँगै मोटरसाइकल, ग्लेज टायल, हाइस्पिड डिजेल, इलेक्ट्रिक जिप, कार, भ्यान, मार्बल स्ल्याब, एलपी ग्यास, मोबाइल, पिकअप तथा डेलिभरी भ्यानबाट अघिल्लो आर्थिक वर्ष भन्दा करिब ३७ अर्ब राजश्व असुलीमा कमी आएको छ।

मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैरहवा भन्सारको कार्यालयको योगदान करिब १२ प्रतिशत छ। तर, यसपटक भने राजश्व असुली घट्दा मुलुकको राजश्व लक्ष्यमै प्रभाव परेको छ।


लुम्बिनी चिन्तन

थप समाचार