भैरहवा असार ९ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो अधिवेशनले आर्थिक वर्ष ०८०÷०८१ को नीति कार्यक्रम प्रस्तुत गरेको छ ।
नीति कार्यक्रमको लक्ष्य समृद्ध नगर खुशी नगरबासी रहेको छ ।चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्धेश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरिएको नगर प्रमुख खाँणले बताए।

नगरपालिकाले आर्थिक बिकास अन्तर्गत कृषि, पशु, रोजगारी, पर्यटन तर्फ खेतवारीमा उत्पादन हातहातमा अनुदानको नीति अपनाईने उल्लेख छ । नगरका प्रमुख बालीहरुमा देखापर्ने रोगहरुको शीघ्र निदानको लागि नगर क्षेत्रभित्र बिशेषज्ञ सहितको बाली उपचार शिविर संचालन गरिने जनाइएको छ ।
नगरपालिकामा एक भूमि बैंक स्थापना गरिनेछ जहाँ सार्वजनिक तथा नदी उकास जग्गाको लगत संकलन गरि उक्त जग्गामा बैदेशिक रोजगारीबाट फर्किएका यूवा, स्थानीय यूवा, आमा समूह, यूवा क्लब तथा यस्तै प्रकृतिका सामुदायिक संघ संस्थाहरुलाई तुलनात्मक लाभ बढी हुने किसिमका फलफूल तरकारी खेति तथा अन्य कृषिजन्य उत्पादन का लागि प्रोत्साहन उल्लेख गरिएको छ ।
सामुहिक खेती प्रणाली अवलम्बन गर्ने समूहहरुलाई जोताईमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने भनिएको छ ।विभिन्न सुपर मार्केटहरु संग सम्झौता गरि उक्त बजारहरुमा तिलोत्तमाको उत्पादन बिक्रि वितरणको व्यवस्था गरिएको नगर प्रमुख खाँणले बताए ।