भैरहवा, १२ चैत ।
नयाँ वर्ष २०८० को पूर्व संध्यामा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्षको अवसरमा चैत ३० गते होटल व्यवसायीहरुको आयोजनामा सिद्धार्थ सडक खाना महोत्सव–२०७९ हुन लागेको हो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजना तथा भैरहवामा रहेका विभिन्न संघ–संस्थाको सहकार्यमा भैरहवास्थित देवकोटाचोकमा खाना महोत्सव हुने भएको हो ।
१ सय वटा स्टल रहने हुने उक्त महोत्सवमा तारे होटलजन्य ८ वटा, रेष्टुरेण्टजन्य ४० वटाका साथै थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरु रहने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिए ।
कार्यक्रममा स्थानीय कला संस्कृति, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरुबाट प्रस्तुती तथा डिजे रहने संगठनका महासचिव महोत्राले बताए । महोत्सवमा भैरहवा आसपासका गाउँपालिकाहरुमा बसोबास गर्ने स्थानीयका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शकहरुको सहभागीता रहने महोत्राले बताए ।
महोत्सवबाट कोभिड–१९ ले थला परेको पर्यटन व्यवसायलाई र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भए पनि राहत पाउने, पर्यटक बढ्ने र समग्रमा बजार चलायमान बनाउने कार्य गर्ने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, चेम्बर अफ कमर्श, रुपन्देहीका उपाध्यक्ष रामचन्द्र रेग्मी, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, लुम्बिनी प्रेस क्लब अध्यक्ष सम्झना शर्मा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश बेल्बासे लगायतले बोल्दै स्थान अभावमा यस्ता महोत्सव गर्न समस्या भइरहेको जनाउँदै स्थानीय, प्रदेश सरकारले ठाउँ व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनीहरुले खाना महोत्सवले भैरहवा क्षेत्रको पर्यटक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।