भैरहवा चैत्र ३
बचत तथा ऋण सहकारी संस्थाहरुलाई राष्ट्रिय स्तरको ब्राण्डेड गर्ने कार्यक्रम प्रोबेशन लुम्बिनी चौथो कलष्टरको १२ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाल्म वर्कसप) शुक्रवार भैरहवामा सम्पन्न भएको छ ।
लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. सिद्धार्थनगरको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा आवद्ध लुम्बिनी क्लष्टर चौथोका रूपन्देही, कपिलवस्तु, पाल्पा जिल्लाका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन तहका प्रमुखहरुको सहभागिता रहेको कार्यशालाको उद्घाटन समारोहमा राष्ट्रिय सहकारी बैंक लि. भैरहवाका शाखा प्रमुख आलोक शिवाकोटीको प्रमुख आतिथ्यता भएको थियो ।

संस्थालाई विधि सम्वत ढंगले सञ्चालन गरी सरकारले लिएको लक्ष प्राप्तीका लागि सहकारी संस्थाले काम गर्न जरुरी रहेको भन्दै प्रमुख अतिथि शिवाकोटीले बचत तथा ऋण सहकारी संस्थाको गुणस्तररीयता तथा सदस्य मैत्री सेवा सञ्चालन गर्न प्रोबेशन कार्यक्रमले ठूलो भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।
इन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुन फिल्ड कार्यालय बुटवलका म्रमुख छत्र प्रसाद धमला, फिल्ड कार्यालय व्यवस्थापन समिति सदस्य तथा रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर देवकोटा, टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष डिबी थापा लगायतले मन्तव्य राख्नु भएको थियो । संस्थाकी संचालक सदस्य सीता कुमारी ढुंगाना काफ्ले स्वागत गरेको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन लुम्बिनी साकोसका प्रबन्धक राम प्रसाद बरालले गर्नु भएको थियो ।
एक दिने सो कार्यशालाको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का कार्यक्रम अधिकृत मनोज खडकाले गर्नु भएको थियो । कार्यशालाले प्रोबेशन कार्यक्रमको कार्यविधिले तोके अनुरुपका कार्यक्रममा आवद्ध सवै साकोसहरुको सूचकहरुको अवस्थाका बारे व्यापक छलफल गरी सुधार गर्नु पर्ने सुचकहरुमा शिघ्र योजना बनाई सुधारात्मक कार्य गर्ने निणर्य गरेको छ ।
क्लष्टरमा आवद्ध ७ वटा साकोसहरुका ३५ जना सहकारीकर्मीहरु बीच आआफ्ना संस्थाले गरेका नविनतम उपलब्धी र क्रियाकलापहरुका बारेमा सिकाई आदान प्रदान गर्नुका साथै आगामी १३ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आगामी २०८० सालको अषाढ ०८ गते पल्लवी बचत तथा ऋण सहकारी संस्था लि. देवदहमा सञ्चालन गर्ने निणर्य समेत कार्यशालाले गरेको छ ।