भैरहवा, कार्तिक ३ /
गृहमन्त्री बालकृष्ण खाँणले बैंकले जथाभावी ब्याज बृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज बृद्धि तत्काल रोक्नुपर्ने बताउनु भएको छ ।
उद्योगी–व्यवसायीले सावा–ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै आएको जनाउँदै बैंकहरुले ब्याज बृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने खांणले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले बिहीबार निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै तत्काल ब्याज बृद्धि रोक्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नु भयो । ‘ब्याज बृद्धिले समग्र मुलुकको आर्थिक क्षेत्रमा असर गरिरहेको छ, यसतर्फ बैंक संचालकको ध्यान जान जरुरी छ’, उहाले भन्नु भयो ।
मुलुकको आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र धरासायी भए यसले नराम्रो असर गर्ने जनाउँदै खाँणले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई यसतर्फ ध्यान दिन सुझाव दिनु भयो । ‘मैले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग पनि कुरा गरिसकेको छु, तत्काल ब्याज बृद्धि रोक्न भनेको छु’, उहाले भन्नु भयो , ‘निर्वाचन आचारसंहिताले तत्काल सरकार एक्सनमा जान सक्दैन । तर, ब्याज बृद्धि रोकिएन भने सरकारले ऐन संशोधनका कदम पनि उठाउन बाध्य हुनेछ ।’
उद्योगी–व्यवसायीलाई व्यवसाय संचालनको वातावरण बनाउने, शान्ति सुरक्षा दिने, नियमन गर्ने, प्रबद्र्धन गर्ने र निजी क्षेत्रसँगै मिलेर मुलुकको अर्थतन्त्र बलियो गराउने राज्यको दायित्वको भएको बताउँदै गृहमन्त्री खाँणले पछिल्ला घटनाक्रमसँग सरकार जानकार रहेको बताउनु भयो । ‘हामी उद्योगी–व्यवसायी र सबै नेपालीहरुको आर्थिक अवस्था बेहाल भएको देख्न चाहँदैनौं’, उहाले भन्नु भयो , ‘अहिलेको अवस्थामा हामी कसैसँग सम्झौता गर्दैनौं । यो अवस्थालाई सुधार गरेरै छाड्छौं ।’
गृहमन्त्री खाँणले अहिलेको अवस्थालाई सुधार गर्न मौद्रिक नीतिमा सुधार गर्ने बताउनु भयो । ‘हामीले मौद्रिक नीतिलाई सुधारमात्रै होइन्, परिमार्जन गर्नेछौं, आवश्यक परे संशोधन पनि गर्नेछौं’, उहाले भन्नु भयो, ‘त्यसैले मैले देशभर छरिएर रहेका उद्योगी–व्यवसायीलाई यो सरकार तपाईंहरुको पक्षमा छ, तपाईंहरुको समस्यालाई हल गर्न तयार भन्न चाहन्छु ।’