Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन


  • लुम्बिनी चिन्तन
  • भाद्र १२, २०७९ आइतवार
  • 326
    SHARES

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

भैरहवा भदौ ११/

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन भएको छ । एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् ।

सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही–२ का सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए । बुटवल राजमार्ग चौराहादेखि ५०० मिटर पूर्वतर्फ बुटवल–१०स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो ।

नेपाली आर्किटेक्ट इन्जिनियरहरुबीच प्रतिस्पर्धाबाट उत्कृष्ट आर्किटेक्टले सम्मेलन केन्द्रको डिजाइन गरेका हुन् । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा बनाएको सम्मेलन केन्द्रमा १३ वटा वातानुकुलित हल छन् । आकाशबाट हेर्दा नेपालको राष्ट्रिय झन्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुईं तलामा गरी ८७२ वटा कुर्ची जडान गरिएको छ ।

२०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरणमा सम्पन्न भएको हो । कोरोना महामारी र रुख कटानमा ढिलाईका कारण प्रभावित आयोजनाको दोस्रो चरणका काम २०७६ कार्तिकसम्म पूरा गर्ने गरी २०७४ सालमा सम्झौता भएको थियो । तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो ।

थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न भएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । यस्तै सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुईवटा लेक्चर हल तथा ८० र ३०० जना क्षमताका सेमिनार हल छन् । यस्तै ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल, तथा ३५० र ५८६ जना क्षमताका थप २ वटा हल छन् । सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार