भैरहवा १२ फागुन
सिद्धार्थनगर नगरपालिकालाई वातावरण मैत्री पालिका बनाउनका लागि योजना बनाएरै अगाडि बढ्ने कार्यकारी अधिकृत तुलसीराम मरासिनीले प्रतिवद्धता जनाउनु भएको छ ।
सिद्धार्थनगर नगरपालिका कार्यालयको आयोजना तथा ईन्द्रणी रुलर डेभ्लप्मेन्ट सेन्टर नेपाल बुटवलको सहजीकरणमा भैरहवामा आयोजित “वातावरणमैत्री स्थानीय शासन”विषयक तालिममा यसै आर्थिक वर्षमा कुनै एउटा वडालाई छनौट गरी वातावरणमैत्री नगर बनाउने अभियानको सुरुवात गरिने घोषणा गर्नुभयो । उहांले भन्नुभयो “हामी यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी कुनै एउटा वडालाई छनौट गर्नेछौं र पुर्ण वातावरणमैत्री वडा घोषणा गर्ने गरी काम सम्पन्न गर्नेछौं । ”
वातावरणमैत्री बनाउन टोल, वडा हुदै नगरमा वसोवास गर्ने सबै नागरिकको साथ र सहयोग आवश्यक पर्ने कार्यकारी अधिकृत मरासिनीको जोड छ । तिनदिन सम्म संचालन हुने तालिममा स्थानीय जनतालाई स्वस्छ, सफा, वातावरण प्रदान गर्नु सबै जनप्रतिनिधि, कर्मचारी लगायतको दायित्व भएको कार्यक्रमका सहजकर्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत गोविन्द केशीले बताउनुभयो । सिद्धार्थनगर नगरपालिकालाई छिट्टै वातावरणमैत्री बनाउन योजना सहित लाग्न केशीले सुझाव समेत दिनुभयो ।
नगरका जननिर्वार्चित प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता कार्यवाहक नगरप्रमुख उमा काफ्ले, कार्यक्रमको उद्देश्यको बारेमा कार्याकारी अधिकृत तुलसीराम मरासिनी तथा संचालन वरिष्ठ अधिकृत शेखरनाथ पन्थीले गर्नुभएको थियो । कार्यक्रममा ईन्द्रेणीका चाणक्य अधिकारी लगायतले सहजीकरण गर्ने बताईएको छ ।