बुटवल । विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार गरेपछि सूचना टाँस गरी असार ९ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सूचना टाँस गरी बैठक सारिएको जानकारी दिए ।
विपक्षीहरुले अल्पमतको सरकारले ल्याएको बजेट सम्बन्धी छलफलमा भाग नलिने भन्दै बहिस्कार गरेका थिए । विपक्षी सांसदहरु बाहिरीएपछि सभामुख पूर्णबहादुर घर्तिले सवा ३ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए । विपक्षीहरु बैठकमा उपस्थित हुन नमानेपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको हो ।
विपक्षीको दावी अनुसार मुख्यमन्त्रीसँग प्रदेशसभामा विश्वासको मत छैन । यही विवादका बीच काँग्रेस, माओवादी, जसपा सहितका विपक्षी गठबन्धनले आइतबारको प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर बहिष्कार गरेको छ । बैठकमा आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो । यही विवादको कारणले प्रदेश सभाको बैठक असार ९ गते बुधबार बस्ने भएकाे छ ।
आइतबार प्रदेशसभामा विशेष समय माग गरेर बोल्दै कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार आफै वैद्य नभएको बताउँदै आफ्नो बैद्यतालाई प्रदेशसभामा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका थिए ।