काठमाण्डौ । निर्वाचन आयोगले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्कालाई निष्काशन गरिएको भन्दै पठाइएका पत्रलाई बदर गरिदिएको छ। दुवै अध्यक्षका पत्रले आधिकारिकता र वैधानिकता पुष्टि नहुने टिप्पणी गर्दै आयोगले दुवै पक्षलाई वैधानिक रूपमा कारबाही पुष्टि हुने विवरण पेस गर्नसमेत निर्देशन दिएको छ।
दुवै अध्यक्षले मङ्गलवार एक–अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । तर निर्वाचन आयोगले भने कारबाही गर्नुपर्ने आधार र कारबाही गर्नका लागि चाहिने पदाधिकारी तथा केन्द्रीय सदस्यको हस्ताक्षर तथा ढाँचा नमिलेको भन्दै पुष्टि हुने कागजात पठाउन पत्र पठाएको हो ।
दुवै अध्यक्षले एक–अर्कालाई कारबाही गरिएको उल्लेख गरे पनि कारबाही पुष्टि हुने आधिकारिक कागजात र निर्णयको प्रतिनिधि नपठाएको आयोगले जनाएको छ । सरकारले गरेको प्रतिनिधि सभा विघटनको विषयलाई लिएर जसपा फुट नजिक पुगेको छ ।
अध्यक्ष महन्थ ठाकुर पक्षले प्रतिनिधि सभा विघटन ठिक हो भन्दै सरकारमा समेत सहभागी हुने तयारी गरेको छ । तर अर्का अध्यक्ष उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई पक्षले भने सरकारको कदमलाई प्रतिगामी भन्दै विपक्षी दलको गठबन्धनमा आबद्ध भएको छ । दुवै पक्षले एक–अर्कालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरिसकेका छन् ।
मंगलबार नै निर्वाचन आयोगमा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्काशन गरेको भन्दै विवरण अद्यावधिक गरिदिन पत्र पठाएका थिए।
त्यसलगत्तै अध्यक्ष महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई निष्काशन गरिएको भन्दै विवरण अद्यावधिक गर्न माग गर्दै आयोगमा पत्र पठाएका थिए। दुवै पक्षले पठाएका पत्र प्रक्रियागत रुपमा नआएको भन्दै आयोगले बदर गरिदिएको हो।