Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्ने एमालेको निर्णय


  • लुम्बिनी चिन्तन
  • जेठ १८, २०७८ मंगलवार
  • 958
    SHARES

पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्ने एमालेको निर्णय

 काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मङ्गलवार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले  एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको पार्टी प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

यसअघि एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो भने अरू १२ जना नेतालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएका १२ जना नेताले जवाफ नदिएपछि उनीहरूमाथि थप कारबाही गर्ने तयारी भइरहँदा हिजो बेलुकी दुवै पक्षका दोस्रो तहका नेताबीच एकताका लागि थप पहल गर्ने समझदारी बनेको थियो ।

पार्टी प्रवक्ता ज्ञवालीका अनुसार यसअघि पार्टीले स्पष्टीकरण सोधेका १२ जनाका बारेमा केही निर्णय भएको छैन । ‘धेरैभन्दा धेरै साथीहरू पार्टीको मूल नेतृत्वमा अडियून् भन्ने हाम्रो प्रयास जारी छ’, उनले भने, ‘आफ्नो पार्टीका नेतालाई हटाएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा केही साथीहरू लागिरहनुभएको छ तर ती साथीहरू पार्टीमा फर्कनुभयो भने राम्रै हुन्छ ।’

उनले पार्टी विवाद समाधान गर्नका लागि गठित कार्यदल अहिले अस्तित्वमा नभएको स्पष्ट पार्दै कार्यदलमा रहेका केही साथी कारबाहीमा परेकाले आवश्यकताका आधारमा कार्यदल पुनर्गठन हुन सक्ने बताए । 

बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने खालका दबाब र गतिविधिबारे गम्भीर छलफल भएको छ । ‘आफूले भनेकै न्यायाधीश र आफूले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढङ्गले दबाब दिनु स्वतन्त्र न्यायपालिकाको मर्मसंँग मेल खाँदैन’, उनले भने, ‘त्यस्तो कुरा गर्नुहुँदैन र हुनुहुँदैन भन्ने हाम्रो निष्कर्ष रहेको छ ।’ 


लुम्बिनी चिन्तन

थप समाचार