काठमाण्डौ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविरुद्ध लागेको भन्दै चारजना नेतालाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेकाे थियो । यस्तै देश र पार्टीको अवस्थालाई ध्यानमा राखेर थप निर्णय गर्ने अधिकार स्थायी कमिटीको बैठकले अध्यक्ष एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पनि नेम्वाङले जानकारी दिए ।
गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । उनका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।