रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएकाे छ। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
उनीहरूले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्। हामीले ४१ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छौं,’ जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले भने।
अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्। िलुम्बिनी प्रदेश सभा ८७ सदस्यीय हो। माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई जना सांसदको पद खारेज भएको छ।
यहाँ नेकपा एमालेका ४१ सांसद छन् भने जनमोर्चाका १ जना सांसद छन्। एमालेमा पनि ओली र माधव नेपाल पक्षबीच विवाद छ। मुख्यमन्त्री पोखरेललाई माधव समूहबाटै चुनौती छ। यसअघि नेपाल पक्षका सांसदहरूले कर्णाली प्रदेशमा पार्टी ह्वीप नमानेर फ्लोर क्रस गरेका थिए।
लुम्बिनीमा माओवादी केन्द्रका दुई मन्त्रीकाे राजीनामा
लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।
माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन् । अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।
८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य चाहिन्छ ।