भैरहवा, साउन १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पार्टीका नेता तथा सांसदहरू रुपन्देहीमा भेला भएका छन्। लामिछाने सहकारी ठगी प्रकरणमा हाल कारागारमा छन्। मंगलबारदेखि सुरु भएको नेता तथा सांसदहरूको आगमन बुधबारसम्म जारी रहनेछ।
पार्टी उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितका सांसदहरू रुपन्देही आइपुगेका छन् भने अन्य सांसदहरू पनि बुधबारभित्रै पुग्ने कार्यक्रम छ।
रुपन्देही क्षेत्र नं। ३ मा मंसिर १७ गते हुने उपनिर्वाचनलाई ध्यानमा राखेर रास्वपाले यहाँ व्यापक गतिविधिहरू सञ्चालन गर्दैछ। सोही सन्दर्भमा संसदीय दलको बैठक पनि बुधबार भैरहवास्थित होटेल रमादामा आयोजना गरिएको छ। पार्टी जिल्ला सभापति डा। बुद्धिप्रसाद शर्माका अनुसार बैठकमा उपनिर्वाचन रणनीति, संगठन सुदृढीकरण र स्थानीय मनोबलसम्बन्धी विषयमा छलफल हुनेछ।
संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार, सांसदहरू दुई दिनसम्म रुपन्देही क्षेत्र नं. ३ मा रहनेछन्। उनीहरूले पार्टीद्वारा सञ्चालित हस्ताक्षर अभियानमा पनि सहभागिता जनाउने छन्। यस अभियानमार्फत मतदाताहरूले कस्तो प्रतिनिधि चाहन्छन् भन्ने बुझ्ने प्रयास गरिनेछ।
यस्तै, जिल्ला नेतृत्वसँग संगठनात्मक विषयमा परामर्श गर्ने, स्थानीय मतदाताको भावना बुझ्ने, र पार्टीको सन्देश फैलाउने उद्देश्यले सांसदहरूको सक्रियता बढाइएको बताइएको छ।