असार ३० । संसदमा सोमबार बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको दिशातर्फ अगाडि बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका क्रममा जनतासँग गरिएको सपना र प्रतिवद्धता आजको वास्तविकतासँग मेल नखाने दाबी गर्दै वर्तमान सत्ताको कार्यशैलीले ती आदर्शलाई अवमूल्यन गरेको टिप्पणी गरे।
“हामीले शान्तिको समयमा देखेको सपना के आजको अवस्थामा जीवित छ?“ भनी प्रश्न उठाउँदै, उनले भ्रष्टाचार, अराजकता र संस्थागत कमजोरी मौलाएको बताए। सार्वजनिक सेवामा आम नागरिकको पहुँच कठिन भएको र पछाडि पारिएका समुदायहरू राज्यबाट अपेक्षित संरक्षण पाउन नसकेको समेत उनले उल्लेख गरे।
प्रचण्डले संसद र संसदीय प्रक्रियामाथि चलखेल र हस्तक्षेप भएको आरोप लगाउँदै, समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा अड्किएकोमा असन्तुष्टि व्यक्त गरे।
साथै, उनले दुई ठूला दलहरूबीचको ’मिलोमतो’लाई संसदलाई ’विचौलियाको अखडा’ बनाएको भन्दै कडा आलोचना गरे। यस्तो प्रवृत्तिले लोकतान्त्रिक अभ्यासमाथि धब्बा लगाएको र जनतासामु लज्जास्पद अवस्था सिर्जना गरेको उनले बताए।
प्रचण्डले वर्तमान सरकारलाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा इमानदारीपूर्वक लाग्न आग्रह गर्दै चेतावनी दिए—“यदि समयमै गम्भीर समीक्षा र कडा निर्णय गरिएन भने मुलुक संकटको विस्फोटक मोडमा पुग्न सक्छ।“