भैरहवा, जेष्ठ २५ । यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (यूसिएमएस), भैरहवाले रुपन्देही जिल्लाका विभिन्न क्षेत्रहरूमा निरन्तर स्वास्थ्य सेवा पु¥याउने अभियान अन्तर्गत प्रतापपुर गाउँपालिकामा बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
प्रतापपुर गाउँपालिका–८ को आयोजना तथा फाईभ एस सर्भिस प्रा.लि., प्रतापपुर–७, नवलपरासीको सहकार्यमा आयोजित उक्त शिविर यूसीएमएसको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । शिविर प्रतापपुर बेलाटारीस्थित एक विद्यालयमा सञ्चालन गरिएको थियो।
अस्पतालका प्रशासन प्रमुख तेजकुमार केसीका अनुसार शिविरमा दन्त परीक्षण, आँखा जाँच, इसिजी, महिला रोग, नाक–कान–घाँटी परीक्षण, सुगर जाँच र बालरोग सेवा लगायतका विविध स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। शिविरमा सहभागी भएका सबैलाई अस्पतालको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गरिने जानकारी दिँदै केसीले अति विपन्न वर्गका बिरामीहरूलाई उपचार निःशुल्क गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 
स्थानीयवासीहरूले शिविरबाट लाभ लिन पाउँदा खुसी व्यक्त गरेका छन्। गाउँमै आएर सेवा दिने व्यवस्था मिलाएकोमा जनप्रतिनिधि तथा सेवाग्राहीहरूले अस्पतालप्रति कृतज्ञता व्यक्त गरेका छन्।
“अस्पताल टाढा परेकाले नियमित स्वास्थ्य परीक्षण गर्न नसकिरहेका थियौं। यस्ता शिविरहरूबाट गाउँमै सेवा पाउँदा रोगको पहिचान र उपचार सजिलो भएको छ।” सेवाग्राहीहरुको भनाई छ ।
यसैगरी प्रतापपुर गाँउपालिका वडा नं. ८ का अध्यक्ष सन्तोष यादवले हरेक वर्ष यसकिसीमको शिविर गराउदै आएको बताउनु भयो ।
यसै सन्दर्भमा, लुम्बिनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष दिपेन्द्र कुर्मीले अस्पतालसँग भएको समझौता अनुसार शिविरमा सहभागी भएका जो–कोहीले अस्पतालमा गएर निःशुल्क परीक्षण गराउन सक्ने तथा आवश्यक परेमा उपचार खर्चमा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको जानकारी दिए।
यस किसिमका सामाजिक उत्तरदायित्वमा आधारित कार्यक्रमले जनप्रतिनिधि, बिरामी र आम नागरिकहरूमा अस्पतालप्रति विश्वास र सन्तुष्टि बढाएको छ।