भैरहवा बैशाख १०/
पश्चिम नेपालमै पहिलो सुविधासम्पन्न क्यान्सर अस्पताल भैरहवामा निर्माण सुरु भएको छ । भैरहवा तथा अमेरिका र युरोपका विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुको लगानीमा रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीमा निजी क्षेत्रबाट पहिलोपटक सुविधा सम्पन्न सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण सुरु गरीएको अस्पतालका संचालक अर्जुन पौडेलले जानकारी दिए ।
विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।
अस्पतालको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताए । प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरूको उपचारका लागि सहयोग गर्दै आएको बताउदै बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएकोले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।
सरकारको एकल प्रयासले मात्र सबैको पहुँचमा उपचार सेवा पुर्याउन कठिन हुने भएकाले निजी क्षेत्रबाट भइरहेका प्रयासहरूलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे । २ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो अस्पताल १ सय शैयाको हुनेछ । निर्माण कार्य करिब डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल दुई चरणमा निर्माणको काम गरिनेछ । ‘पहिलो चरणमा ५० बेडको अस्पताल बनाइनेछ संचालक पौडेलले भने, ‘यो डेढ वर्षभित्रै संचालन हुनेछ ।’ उनका अनुसार दोस्रो चरणमा थप ५० बेढ गरी एक सय बेडको अस्पताल बनाइने छ ।
नारायणगढ पश्चिममा नेपालमा क्यान्सर उपचारका लागि सुविधासम्पन्न कुनै अस्पताल छैनन् । यो अस्पतालले पश्चिम नेपालसँगै छिमेकी मुलुकका विरामीलाई उपचारमा सहजता ल्याउनेछ । अस्पताल निमार्ण सम्पन्न पुर्व आगामी असार महिना देखी नै सिद्धार्थनगर सिटि अस्पताल संग समन्वय गरी क्यान्सर बिरामीका लागी किमो थेरापी सेवा उपलब्ध गराउने संचालक अजुर्न पौडेलले बताए । सिटि अस्पताल संगको सहकार्यमा मेडिकल अन्कोलोजिस्ट भर्ना गरी क्यान्सर सम्बन्धी स्किृनीड. , क्यान्सर सम्बन्धी अप्रेसन सुरु गरीने पौडेलले बताए ।