भैरहवा, चैत्र १६
संविधानप्रदत्त महिला अधिकारको पूर्ण कार्यान्यवन र समानताको लक्ष्य हासिल गर्ने अभियानलाई निरन्तरता दिनु पर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । गत निर्वाचनका क्रममा राजनीतिक दलहरुबीच भएको गठबन्धनका कारण कतिपय अवस्थामा महिला सहभागीताको अनुपात घटेको बताउदै आगामी निर्वाचनमा राजनीतिक दलहरुले यस विषयमा विशेष ध्यान दिन जरुरी रहेको बताईन । सिद्धार्थनगर नगरपालिका भैरहवाले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरुको अन्तरसम्वाद कार्यक्रममा बाल्दै पूर्वराष्ट्रपति भण्डारीले प्राप्त उपलब्धीको रक्षा गर्दै संविधानप्रदत्त महिला अधिकारको पूर्ण कार्यान्यवन र समानताको लक्ष्य हासिल गर्ने अभियानलाई निरन्तरता दिनुपर्ने बताईन । समाजमा गहिरो जरा गाडेको पुरानो पितृसत्तात्मक सोचका कारण महिलाहरु अझै पनि सामाजिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक र आर्थिक रुपमा पछाडी परेको अवस्था भएको उनको भनाइ थियो ।
‘बालविवाह, बहुविवाह, दाइजो, छाउपडी, बोक्सीको आरोप जस्ता महिलाविरोधी सामाजिक परम्परा अहिले पनि समाजमा विद्यमान देखिएको उल्लेख गर्दै समाजमा सिर्जना गरिएका विभेद हटाइ न्यायपूर्ण एवं समतामूलक निर्माणका लागि महिला र पुरुष दुवैको समान सहभागीता आवश्यक रहेको बताईन ।
२०६२–६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसदले नै महिलाका अधिकारलाई सुनिश्चित गरेको बताईन । “२०६२–६३ जनआन्दोलनपछि पुनस्र्थापित सदनले महिलाका ४ अधिकार स्थापित गरेको थियो, त्यसैको जगमा उभिएर २०७२ सालमा जारी संविधानले ३३ प्रतिशत संवैधानिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको उल्लेख गर्दै तीनै तहमा निर्वाचित जनप्रतिनिधि महिलाको भूमिका सशक्त हुँदैगएकोमा खुसी व्यक्त गरिन । महिला सशक्तीकरणका लागि महिलालाई आर्थिक सशक्तीकरणमा पनि जोड्नु पर्ने भण्डरीले बताईन ।
इतिहासको चर्चा गर्दै नेपाल राष्ट्रको निर्माणदेखि लोकतन्त्रको स्थापना र सामाजिक न्यायका लागि पुर्खाहरूको योगदानलाई बिर्सन नहुने उल्लेख गरिन । जनप्रतिनिधिलाई अधिकार मात्र नभएर जिम्मेवारीमा पनि ध्यान दिन आग्रह गर्दै सामुदायिक विद्यालयको शिक्षा र दिवाखाजालाई सही ढङ्गले प्रदेश र स्थानीय जनप्रतिनिधिले व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन । कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेनका पोखरेल, प्रदेश सभा सदस्य जमुना ढकाल, हेमा बेल्बासे के.सी., सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी लगायतले बोलेका थिए ।