भैरहवा भदौ २४/
लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रलाई चलायमान बनाउने उद्देश्यसहित ४५ औं विश्व पर्यटन दिवसको अवसरमा भैरहवामा दुई दिनसम्म सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
सद्धार्थ होटल संघ नेपालले प्रदेशको पर्यटन मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघसंस्थासँग सहकार्यमा विश्व पर्यटन दिवस सेप्टेम्बर २७ तारिख र २८ तारिख गरी दुई दिनसम्म ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१’ आयोजना गर्न लागेको सिदार्थ होटल एशोसिएशन रुपन्देहीका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गरी पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको सोमवार भैरहवामा पत्रकार सम्मेलन गरी एशोसिएशनले जानकारी दिएको छ ।
भैरहवाको देवकोटाचोक देखि आँखा अस्पतालसम्म दुई दिनसम्म सडकमै खाने र राष्ट्रिय कलाकारहरुसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित राखिने उनले बताए ।
पर्यटकलाई सुविधासहित दुई रात भए पनि यस क्षेत्रमा बस्ने र रमाउने वातावरण बनाउन खोजेका छौं’, उनले भने, । बुद्धजन्म स्थल लुम्बिनीको प्रवेशद्वारका रुपमा रहेको भैरहवामा हुने महोत्सवले लुम्बिनीसहितका पर्यटकीय गन्तव्यको पबद्र्धनमा समेत टेवा पुग्ने उनले बताए ।
महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ । थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी पर्यटक महोत्सव रमाउन आउने विश्वास गरिएको छ । संघका सचिव एवं कार्यक्रम संयोजक विनोद खरेलले छिमेकमा भारत जस्तो विशाल मुलुक रहेको जनाउँदै त्यहाँका ३ प्रतिशत पर्यटक पनि नेपाल आउने वातावरण बनाउने हो भने यसले मुलुकको समृद्धिमा टेवा पुग्ने जनाए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । उनले क्लबले यस क्षेत्रको प्रबद्र्धनमा आवश्यक सहयोग र सहकार्य गरी कार्यक्रम सफल बनाउने सबै किसिमको साथ दिने विश्वास दिलाइन् ।
कार्यक्रमको मुख्य प्रायोजक रहेको युनाइटेड एजोड इन्स्योरेन्स लिमिटेडका लुम्बिनी प्रदेशका नायव प्रबन्धक प्रकाश शर्माले पर्यटन क्षेत्रको संस्था होटल संघसँग सहकार्य गर्न पाउँदा खुशी लागेको जनाए ।
महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने तयारी भैरहको आयोजकको भनाई छ । महोत्सवमा दुर्गेश थापा, समिक्षा अधिकारी, अस्मिता अधिकारी, अफसर अली, मनिष कार्कीसहितका राष्ट्रिय तथा स्थानीय नेपाली कालाकारका साथै भारतीय तथा भोजपुरी कलाकारहरु संजना सिल्क, ईन्दु दनुवार, प्रिती पासवान, प्रशन्हा पाण्डेसहित लाइभ ब्याण्डको प्रस्तुती रहने कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिए ।
महोत्सवमा प्रदेश भरीबाट ५ तारे होटल, ४ तारे होटल, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका आकर्षक स्टलहरु रहने सयोजक खरेलले जानकारी दिए ।