भैरहवा भदौ ११/
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द गरीने भएको छ । विमानस्थल बन्द गरिँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ३३ प्रतिशत उडान कटौती हुने छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले २३ कात्तिकदेखि १८ चैतसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरेर धावनमार्ग, ट्याक्सी वे, एप्रोनलगायत विस्तार गर्न लागेको हो ।
धावनमार्ग र ट्याक्सी वे विस्तारका क्रममा राति १० बजेदेखि बिहान आठ बजेससम्म विमानस्थल बन्द हुने त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । सन् २०२० बाट सुरु भएको धावनमार्ग, ट्याक्सी वे र एप्रोन विस्तारको काम सन् २०२५ भित्रै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।
प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० प्रतिशत उडान गर्ने गरी पुनर्तालिकीकरण गर्न परिपत्र गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । दैनिक चार उडान गर्नेले कम्तीमा ५० प्रतिशत र तीन उडान गर्नेले २५ प्रतिशत उडान भैरहवा वा पोखरा सार्नैपर्ने उनको भनाइ छ ।
२ जेठ ०७९ मा सञ्चालनमा आएको गौतम बुद्ध र १७ पुस ०७९ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । प्राधिकरणले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा र ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा छुट दिँदा पनि अन्तर्राष्ट्रिय वायुसेवा भैरहवा र पोखरामा उडान गर्न आकर्षित भएका छैनन् । सुरुवाती समयमा कुवेतको जजिरा एयरवेजले भैरहवामा नियमित उडान गरे पनि विविध समस्या देखाएर उडान रोकेको छ ।
भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू सिफ्ट गर्ने उपयुक्त समय आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए । ‘त्रिभुवन विमानस्थल १० घण्टा बन्द हुँदै छ, त्यसमाथि उडान थप गर्ने स्पेस पनि छैन,’ उनले भने, ‘अब भैरहवा र पोखरा विमानस्थल सञ्चालनको विकल्प पनि छैन ।’ प्रधानमन्त्री कार्यालयले पोखरा र भैरहवा विमानस्थल सञ्चालनसम्बन्धी कार्यविधि बनाएर स्वीकृतसमेत गरेको छ । जसमा नेपाल वायुसेवा निगम ९नेवानि०को ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट, हवाई टिकटमा भ्याट छुट, यात्रुसेवा शुल्कमा छुट, हवाई इन्धनमा छुट, श्रम डेस्क स्थापनालगायत छुट, सहुलियत तथा सेवाहरू उपलब्ध गराउने उल्लेख छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम आयल निगमले हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर छुट दिने निर्णय गरिसकेको छ ।