काठमाण्डाैं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट पदमुक्त भएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।
अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएको हो। माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर पार्टी परित्याग गरेको चार सांसदलाई कारबाही गरेको हाे। सांसदबाट हटेसँगै मन्त्री पदबाट पनि हटेकाे छ । मन्त्री बन्न अब प्रधानमन्त्रीले संविधानको अर्को धाराबाट नियुक्त गर्नुपर्छ।
संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नु पर्नेछ। उनीहरूले अहिले संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्री भएका थिए।
संविधानविद् एवम् नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले पनि सांसद पद गएका व्यक्तिहरूले मन्त्री कायम रहन पुनः सपथ ग्रहण गर्नुपर्ने बताए। माओवादी केन्द्रका चार सांसदले सर्वोच्चको फैसलाबाट नेकपा साविकको अवस्थामा फर्किए पनि नेकपा एमालेमै बस्ने निर्णय लिएका थिए।