भैरहवा, असार २३ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नआउने बताएका छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको बताए । असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार नै अगाडि बढेको बताए । प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्त, लीलानाथ श्रेष्ठ लगायतले प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएपछि माओवादी सांसद दाहालले जवाफ फर्काएका हुन्। एमाले सांसद पन्त, श्रेष्ठ लगायतपछि बोलेका माओवादी केन्द्रका सांसद दाहालले भ्रष्ट र अनैतिकहरूले नैतिकताको पाठ पढाउन आवश्यक नभएको बताउँदै प्रचण्ड संवैधानिक प्रक्रिया अनुसार अघि बढेको बताए ।