भैरहवा, असार २० । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार (आज) भैरहवा आइपुगेका छन् । अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान कार्यक्रमका लागि ओली भैरहवा आएका हुन् । उनलाई नेकपा (एमाले) का नेता–कार्यकर्ता, जनप्रतिनिधिलगायतले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३.६ जीपीए प्राप्त गर्न सफल १ हजार २८ विद्यार्थीलाई एकै ठाउँ सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।
कार्यक्रममा ओलीले बालबालिकासँग अन्तरक्रिया पनि गर्ने छन् । अन्तरक्रियात्मक ढंगले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले अध्यक्ष ओलीसँग बालबालिकाहरुको अन्तरक्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरुको पनि कार्यक्रममा सहभागिता रहने बताए ।कार्यक्रममा एमाले उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवं रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य विष्णु प्रसाद पौडेल, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल समेत सहभागी हुनेछन् ।