भैरहवा, असार २० । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजको सी चेकमा भएको र कम्पनी छनोटमा भएको लापरबाहीको विषयमा अध्ययन छानबिन समिति गठन भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर नेतृत्वको पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन्।
समिति सदस्यमा प्राधिकरणकै पूर्वमहानिर्देशक रतिशचन्द्र लाल रहेका छन्।
समितिको सदस्यमा मन्त्रालयका एकजना प्रतिनिधि सदस्य सचिव रहने छन्। समितिमा थप एक जना विज्ञ र एक जना कानुनी जानकार सदस्य रहने छन्। मन्त्रालयले वाइडबडी ए३० जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाएको कागजात र फाइलको पत्रसमेत मागेको छ।
सी चेक गराउन पठाउने क्रममा अनुमति नलिनुका साथै खरिद प्रक्रिया पूरा नगरेको भन्दै तत्काललाई काममा रोक लगाएको हो। अधिकारीसँगै प्राधिकरणले अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु ज्वारचन, क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत प्राधिकरणले ग्राउन्डेड गरेको छ। त्यस्तै, क्यामो म्यानेजर ज्ञानबहादुर कुँवरलाई समेत काममा रोक लगाइएको छ।प्राधिकरणबाट एओसी लिएको वायुसेवा कम्पनीले कुनै वायु यानको मेजर चेक, सी चेक तथा ओभरल चेक अपको काम गर्दा सबैभन्दा पहिले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ ।
यसअघि गत मंगलबार वाइडबडी जहाज सी चेकका लागि बिना अनुमति दुबई हुँदै इटाली पु¥याएको भन्दै उड्डयन प्राधिकरणले निगमका अध्यक्ष अधिकारीलाई तत्कालका लागि निलम्बन गरिसकेको छ। नेपालबाट इटालीको लागि सिधा उडान गर्ने गरिएको छैन।