भैरहवा, असार २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । अख्तियारले बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको आरोपमा उजुरी परेपछि मेयर महर्जनलाई सोधपुछका पत्र काटेको हो । मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमा बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उनीमाथी २०७७ सालमा नगर कार्यपालिकाको निर्णय विपरीत बाढी पीडितलाई १ लाख ५० हजार र २ लाख ५० हजार रुपैयाँका दरले एकलौटी ढंगले बाँडेको आरोप छ । यता, बुधबार मात्रै ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर लगाएको थियो । मन्दिरको जग्गा मिचेको भन्दै मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए ।