काठमाण्डौ कात्तिक १९/
आइसिसी टी–२० विश्वकपमा स्थान बनाएका नेपाल र ओमानबीच आज एसियाली छनोटको फाइनलमा प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा खेल ११ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवैको ध्यान च्याम्पियन बन्ने छ । नेपाल घरेलु समर्थकको साथ उपाधि घरमै राख्न चाहन्छ ।
साथै, समूह चरणको अन्तिम खेलमा बेहोरेको पाँच रनको हारको बदला लिने सोचमा छ । कप्तान रोहितकुमार पौडेल च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रनेछन् । ओपनर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने सानदार प्रदर्शन गर्ने लक्ष्यमा छन् । ‘हाम्रो लक्ष्य हरेक खेल जित्ने हुनेछ । त्यहीअनुसार सम्हालिएर खेल्छौँ,’ नेपालका कप्तान रोहित भन्छन् ।