भैरहवा भदौ १५/
नेकपा (एमाले) को बटुवलमा शनिबारदेखि प्रथम लुम्विनी प्रदेश अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भदौं १६ र १७ गते हुने अधिवेशनका लागि विभिन्न जिल्लाहरुबाट प्रतिनिधिहरु आउने क्रम सुरु भएको छ ।
पार्टीका सचिव एवं प्रदेश इन्चार्ज पदमा अर्याल, पोलिटब्युरो सदस्य सुर्य थापा तथा प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले अधिवेशन विविध कारणले अर्थपूर्ण रहेको बताए । ‘सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्दै छ साथै यसलेपार्टी जीवनलाई संघीय ढाँचा अनुरुपमा लगेर नयाँ नेतृत्व चयन गर्ने भएकोले यो आफैमा ऐतिहासिक महत्वको पनि छ’–अध्यक्ष कंडेलले पत्रकार सम्मेलनमा भने ।
सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो साढे १२ बजे गर्ने भएका छन् । उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने अध्यक्ष कंडेलले बताए ।
सम्मेलन पूर्व विहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन् । सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १००४ प्रतिनिधिहरु सम्मेलनका प्रतिनिधि रहनेछन् ।
अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।
सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।
सम्मेलनको तयारीको सन्दर्भमा गठित मूल आयोजक कमिटीसहित, प्रतिवेदन लेखन, खाद्य तथा आवास, प्रचार प्रसार, मञ्च तथा स्वयंसेवक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्राथमिक स्वास्थ्य, जनपरिचालन जस्ता समितिले यो सम्मेलन सफल बनाउन गर्नुपर्ने सम्पूर्ण काम सम्पादन गरिसकेका अध्यक्ष कंडेलले बताए ।