Logo
२०८३, कार्तिक ७ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ७ गते

द्वन्द्वपीडित परिवारमाथि सरकारले नुनचुक छर्कने काम गर्‍यो: अध्यक्ष लिङ्देन


  • लुम्बिनी चिन्तन
  • चैत्र ११, २०७९ शनिवार
  • 210
    SHARES

द्वन्द्वपीडित परिवारमाथि सरकारले नुनचुक छर्कने काम गर्‍यो: अध्यक्ष लिङ्देन

भैरहवा चैत्र १०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले हतारहतारमा सशस्त्र युद्धमा ज्यान गुमाएका व्यक्तिहरुको नाम राजपत्रमा प्रकाशित गरेको र त्यो सूचीमा जीवित मानिसको नाम समेत राखेको भन्दै आलोचना गरेका छन् । उनले प्रचण्ड नेतत्वको सरकार माओवादी केन्द्रको मात्रै हो भनेझै गरी ज्युँदा मानिसको नाम पनि सहीदको सूचिमा प्रकाशित गर्नु मुलुक र जनताका लागि सही सन्देश नभएको जनाए ।

11.jpg

शुक्रबार भैरहवामा आयोजित पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, रुपन्देहीको जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले माओवादीलाई देशको अवस्थाको बारेमा भन्दा पार्टीका बारेमा चिन्ता बढी भएको दावी गरे । ‘उहाँहरुलाई देशको होइन, आफ्नो र पार्टीकाबारेमा चिन्ता छ, यसैले मनलाग्दी निर्णय गर्दै जानुभएको छ’, उनले भने ।

उनले द्वन्द्वका बेला अनाहकमा मारिएका परिवार र आफन्तको पीडामा वर्तमान सरकारले मल्हम लगाउनु सट्टा उल्टै नुनचुक छर्कने काम गरेको आरोप लगाए । ‘कति परिवारले आफन्त गुमाए, धेरै दिदीबहिनी विधुवा भए, बाउ गुमाए, पति गुमाए, सम्पत्ति गुमाए’, उनले भने, ‘त्यस्ता परिवारलाई अहिलेको सरकारले हेर्दैन, उहाँहरुको घाउमा मल्हम् लगाउने प्रयास हुँदैन, उल्टै नुनचुक छर्कने काम भइरहेको छ, यसविरुद्ध राप्रपाले सशक्त प्रतिवाद गर्छ ।’ उनले अब राप्रपाले ती मुद्दाहरु उठान गरेर अघि बढ्ने जनाए ।

देशलाई दुर्घटनाबाट बचाउन राजनीतिलाई सुधार गर्नुपर्नेमा जोड दिँदै उनले राजनीतिमा महिलाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने बताए । उनले नेपालको राजनीतिमा इमान्दारिता र नैतिकता जीवित छ भन्ने उदाहरण प्रस्तुत गर्दै राप्रपा सरकारबाट बाहिरिएको बताए । अब राप्रपा सशक्त ढंगले सदन र सडकबाट अघि बढ्ने उनले जनाए । अध्यक्ष लिङ्देनले राष्ट्र बैंक र सरकारको उदासिनताका कारण मुलुकमा आर्थिक संकट उत्पन्न भएको आरोप लगाए ।

पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले महिला अधिकारका लागि राप्रपा अघि बढेको बताए । उनले नारी र पुरुष अन्याय अत्याचारविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बताए । राष्टिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय अध्यक्ष अञ्जना शाह रावलले राप्रपाले जित्दा र यो पार्टीको एजेण्डा स्थापित हुँदा मात्र मुलुकको विकास हुने दावी गरिन् । राप्रपा केन्द्रीय सदस्य स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणा लगायतले बोल्दै पार्टीलाई बलियो बनाउँदै मुलुक र जनहीतमा काम गरी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।


लुम्बिनी चिन्तन

थप समाचार