Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १७, २०७९ बुधवार
  • 268
    SHARES

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा



भैरहवा, १५ फागुन ।

भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु भएको छ । २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो । बिरामीहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र यहाँ उपचार गर्ने बिरामीहरुको लागि सहजता र सुविधा दिने उद्देश्यले ब्लड बैंकको स्थापना गरिएको अस्पतालले जनाएको छ ।

सिटी स्क्यान र ब्लड बैंक सेवाको सोमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री पन्थीले भीम अस्पतालमा धेरै सुधार भएकोले अस्पतालको प्रशंसा गर्नुपर्ने बताए । उनले सीमित स्रोतसाधनका बाबजुद अस्पतालले राम्रो सेवा प्रदान गरेको बताए । उनले प्रदेश सरकारले अस्पताललाई आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै बजेट छुट्याएको छ । भीम अस्पताल बिरामीको पहिलो रोजाइ बनोस् । ’

उनले अस्पतालबाट उपलब्ध हुने सेवाका लागि बाहिर पठाउने कुरा गद्दारी गर्नु भएको बताए । उनले अस्पतालको सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । मन्त्री पन्थीले वि.सं.१९९० सालमा स्थापित भीम अस्पताल इतिहास बोकेको अस्पताल भएको बताए । उनले यो अस्पताल सिद्धार्थनगरका लागि गर्वको विषय भएको बताए । उनले भने, ‘दानवीर हुनु महत्वपूर्ण कुरा हो । जो कोही दानवीर बन्न सक्दैनन्, अस्पताललाई विभिन्न समयमा सहयोग गर्ने दानवीरहरुलाई सम्मान गर्नुपर्छ । उहाँहरुलाई प्रदेश सरकारकोतर्फबाट सम्मान व्यक्त गर्न चाहन्छु । ’ उनले भीम अस्पतालको टीमले कोरोनाकालमा राम्रो काम गरेको बताए । मन्त्री पन्थीले भने, ‘यो अस्पताल कोरोना विशेष अस्पतालको रुपमा नभएको भए बेहाल अवस्था हुन्थ्यो । कोरोनाकालमा कतिपय अस्पतालमा गेटभित्र जाने अवस्था पनि थिएन ।’

स्वास्थ्य सेवा भनेको अन्य पेशा भन्दा फरक भएकाले बिरामीलाई मुस्कानसहितको सेवा दिनुपर्ने उनको भनाइ छ । व्यक्तिगत र पारिवारिक तनाव अस्पतालमा आउने बिरामीसँग पोख्न नहुने उनले बताए । उनले भने, ‘मुस्कानसहित बिरामीलाई परामर्श दिदा धेरै रोग निको हुन्छ । यो चिकित्सक र स्वास्थ्यकर्मी तथा अस्पतालको प्रतिष्ठाको विषयसँग पनि जोडिएको हुन्छ । ’

त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले भीम अस्पतालमा धेरै सुधार भएको बताए । उनले अस्पताललाई अगाडि बढाउन जिल्ला समन्वय समितिको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘अस्पतालको भवन र उपकरण मात्रै राम्रो भएर हुँदैन, चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई मुस्कानसहितको सेवा दिनुपर्छ । अस्पतालाई जति सुधार गर्नुहुन्छ, त्यति नै सहयोगी हात बढ्छ ।’

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीसँग राम्रो व्यवहार गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रमा खेलवाड गर्नुहुँदैन । यो सेवा गर्ने ठाउँ हो ।’

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले कोरोनाकालमा डाक्टर, नर्स, स्वास्थ्यकर्मी, कर्मचारीको टीमले आफ्नो ज्यान जोखिममा राखेर बिरामीको ज्यान बचाएको बताए । उनले भने, ‘सबैले उपचार गर्न आउने अस्पताल बनाउँछौं । ’ उनले एमआरआई मेसिन नहुँदा अन्यत्र जानुपरेकाले उक्त मेसिनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको बताए । अध्यक्ष भण्डारीले आफूले अस्पताल विकास समितिको नेतृत्व सम्हालिसकेपछि सहयोगको ओइरो नै आएको बताए । उनले भने, ‘कसैले नगद त कसैले स्वास्थ्य सामग्री सहयोग गर्नुभयो र अहिले पनि सहयोग गर्दै हुनुहुन्छ ।’

अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले भीम अस्पतालको विकासमा प्रदेश सरकारको ध्यान जाने कुरामा विश्वस्त रहेको बताइन् । उनले दरबन्दी अनुसार जनशक्ति नहुँदा बेलाबेलामा समस्या हुने गरेको बताइन् । उनले विगत भन्दा विशेषज्ञ सेवा थप गरिएको बताइन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका गभर्नर नवराज न्यौपानेले लायन्सले अस्पताललाई ४० लाख मूल्य बराबरको भिडियो एक्स–रे र ई.सि.जी. मेसिन उपलब्ध गराएको बताए । उनले भने, ‘अस्पताललाई उपलब्ध गराइएको उपकरण तथा मेसिनको सही सदुपयोग हुनुपर्छ ।’

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले निजी क्षेत्रले अस्पताललाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) का अध्यक्ष अनिल कुमार ज्ञवालीले अस्पतालबाट अन्यत्र रिफर गर्न नपर्ने परिस्थितिको सिर्जना गर्नुपर्ने बताए । उनले कोरोनाकालमा भीम अस्पतालमा धेरै बिरामीको उपचार भइ ज्यान बचेको बताए ।

नमुना एकीकृत विकास परिषद रुपन्देहीकी निवर्तमान अध्यक्ष ज्ञानु पौड्यालले भीम अस्पतालले स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताइन् । उनले केही सेवाका लागि भारतका विभिन्न ठाउँमा पठाउने गरिएकाले यो कार्य रोक्नुपर्ने बताइन् । उनले अस्पतालमा सुरु भएका सेवाका लागि बाहिर पठाउन नहुने बताइन् ।

भैरहवा मर्निङ वाक गु्रपका अध्यक्ष ओमकार गौचनले स्वास्थ्यकर्मीले बिरामीलाई राम्रो व्यवहार गर्नुपर्ने बताए ।

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षता, स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता, अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताको स्वागत तथा जनस्वास्थ्य निरीक्षक बाबुराम विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कार्यक्रममा कोरोना महामारीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, संघ–संस्था लगायतलाई सम्मान गरिएको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार