भैरहवा, ५ पुस ।
आगामी पुस ११ र १२ गते भारतमा हुने एनकेएफआई इन्टरनेशनल कराँते एण्ड किक बक्सिङ प्रतियोगिता–२०२२ मा नेपालले सहभागीता जनाउने भएको छ । भारतको महाराष्ट्रस्थित नेता जी सुभाष चन्द्र बोस मिल्ट्री स्कुल फुलगाउँमा हुने प्रतियोगितामा अफिसियल र खेलाडी गरी १५ जनाको सहभागीता रहने जापान गोजुरियो कराँते डो मिसन संघ, नेपालले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक के.बि. रानाले संघको तर्फबाट सहभागी नेपाली खेलाडीको टीमलाई पुस ८ गते बेलहियाबाट विदाई गरिने जानकारी दिए । उनले खेलाडीको टीम पुस १५ गते नेपाल फर्कने कार्यक्रम तय भएको बताए ।
उनले भने, ‘जापान गोजरियो कराँते डो संघको राष्ट्रिय टीमले यसअघि सन् २०१४ पुनामा वल्र्ड च्याम्पीयनसीप, सन् २०१७ मा दिल्लीमा च्याम्पीयनसीप, सन् २००१ म पटनामा इन्टरनेशनल च्याम्पीयनसीप र सन् २०२० मा कोलकत्तामा इन्टरनेशनल च्याम्पीयनसीप अवार्ड जितेको गौरवमय इतिहास रहेको छ ।’ उनले हाल यस संघमातहत नेपालभर ३० डोजो र भारतमा १५ रहेको जानकारी दिए ।
संघका केन्द्रीय उपाध्यक्ष सतिश चौधरीले नेपाली कराँते खेलाडीको नेतृत्वसहित उक्त च्याम्पीयनसीपमा जापान गोजुरियो कराते डो संघका राष्ट्रिय टीम कोच सनसाई के.बि. राना काजीले गर्ने जानकारी दिए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले नेपालबाट अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गरे । उनले खेलकुदको माध्यबाट नेपाललाई चिनाउन खेलाडीको योगदान महत्वपूर्ण रहेको बताए ।
त्यस्तै नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भरत बहादुर केसीले विगतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली कराँते खेलाडीले विभिन्न अवार्ड जितेको बताए ।
जापान गोजरियो कराँते डो संघ, नेपालका केन्द्रीय सचिव गिरी प्रसाद पुनको स्वागत तथा उपाध्यक्ष सतिश चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।